बिर्तामोड । सेभेन सिज सिनेमाले बिहीबार भएको प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘अभिमन्यु’को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको तर्फबाट प्रयोग भएको ‘नचलेको कलाकार राखेको’ भन्ने शब्दप्रति आपत्ति जनाएको छ ।
‘अभिमन्यु : च्याप्टर वान’को ट्रेलर रिलिज कार्यक्रममा कलाकारहरूलाई लक्षित गरी ‘नचलेका कलाकार’ भन्ने शब्द प्रयोग भएको घटनाप्रति गहिरो सिनेमाले दु:ख व्यक्त गरेको हो । प्रेस विज्ञप्ति जारी गर्दै सेभेन सिज सिनेमाले उक्त शब्द प्रयोगले कलाकारहरूको आत्मसम्मानमा आँच पुगेको र कलाकारहरूले विगत लामो समयदेखि निरन्तर गरेको योगदानलाई अवमूल्यन भएको आशय व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना हुन् । हाम्रो लागि सबै कलाकारहरू समान हुन् । उहाँहरूको योगदानलाई सम्मान गर्नु सम्पूर्ण व्यक्ति, समाज र संस्थाको दायित्व हो ।’
सेभेन सिज सिनेमाले कलाकारहरूको मनोबल गिराउने यस्ता विषयमा ध्यान दिन सम्पूर्णमा अह्वान गरेको छ । उक्त प्रेस विज्ञप्ति सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले जारी गरेका हुन् ।
यो चलचित्र भदौ २७ बाट हलमा लाग्दैछ । सार्वजनिक ट्रेलरमा क्राइम थ्रिलर विषयवस्तु देख्न सकिन्छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायतको अभिनय छ । फिल्मको हिन्दी भर्सनमा भने असोज ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ ।