इटहरी । क्राइम थ्रिलर चलचित्र ‘अभिमन्यु’को कोशीबाट प्रेस मिट एन्ड ग्रिट कार्यक्रम आरम्भ गरिएको छ । यही भदौ २७ बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको युनिटले सोमबार इटहरीको इलाइट सिनेमा हलमा पत्रकारसँग भेटघाट गर्दै चलचित्रका बारेमा जानकारी दिएका छन् ।
मोफसल यात्रामा निस्किएको टिममा प्रमुख अभिनेताद्वय कामेश्वर चौरसिया र किरण श्रेष्ठ सँगै मिडिया कोअर्डिनेटर पवन भट्टराई सहभागी छन् । साँझ आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख सहरहरु इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसक्रममा अभिनेता चौरसियाले आफ्नो अभिनय यात्रा र अनुभूति सुनाएका छन् । ‘दर्शकको मायाले अहिले प्रमुख भूमिकामासम्म देखिन पाएकोमा एकदमै खुशी छु र दर्शकले यो चलचित्रलाई माया गर्नुहुनेछ भन्ने पूरा विश्वास लिएको छु ।’ टेबलमा टाउको बजारेको सिनमा ४१ टेकसम्म लिएको सुनाउँदै उनले भने, ‘त्यो सिन लिँदालिँदा टाउकोमा सुन्निएको थियो, तर ट्रेलरमा आएको त्यही सिनलाई दर्शकले खूब माया दिनु भयो, खुशी लागेको छ ।’ मधेसको कथामा बनेको अभिमन्यु सस्पेन्स क्राइम थ्रिलर फिल्म भएकोले दर्शकलाई बोर हुन नदिने उनको दाबी छ ।
अर्का अभिनेता किरण श्रेष्ठले फिल्मको मज्जा र चक्रव्यूहमा फस्ने दिन भाद्र २७ गते रहेका कारण सबैलाई अभिमन्यु फिल्म हेर्न आग्रह गरे । उनले चरित्र कलाकारतर्फ आफ्नो आकर्षण बढेको बताउँदै भने, ‘अब हिरो होइन, बलियो कलाकार बन्ने सोचेको छु ।’
मिट एन्ड ग्रिट कार्यक्रम इटहरीपछि देशका अन्य प्रमुख शहरहरुमा भदौ १७ गते जनकपुर, १८ गते वीरगञ्ज र हेटौँडा, १९ गते चितवन हुँदै काठमाडौँ पुग्नेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन् । पैसाको प्रलोभन, अपहरण र संघर्षलाई कथाको मूल आधार बनाइएको यसमा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई प्रस्तुत गरिएको छ । हालै सार्वजनिक ट्रेलरमार्फत घरबारबिहीन युवाले पैसाको लागि गरेका अवैध गतिविधि, समाजमा पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्ने संघर्षलाई देखाइएको छ ।
कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको ‘अभिमन्यु’ अपराध र पैसाको चक्रव्यूहमा फस्ने पात्रको कथा भन्ने उद्देश्यले तयार गरिएको हो । यो फिल्म हिन्दी भर्सनमा भने असोज ६ (सेप्टेम्बर २२) गते वर्ल्डवाइड प्रदर्शनमा आउने भएको छ ।
मुकेश खनालको लेखनमा बनेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।