बिर्तामोड । केदार घिमिरेको प्रमुख भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ले रिलिजको तेस्रो साता पनि बक्स अफिसमा कब्जा जमाएको छ । ‘माग्ने बुढा’ पात्रसँग २० वर्ष अघिबाट भावनात्मक रुपमा जोडिएका दर्शकले निकै उत्साहपूर्वक साथ दिएका छन् ।
सामीप्यराज तिमल्सेनाको लेखन तथा ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले रिलिजको १२ औँ दिनसम्म कुल ४ करोड ९ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ । विशेष गरी तीज र त्यसपछिको पहिलो सप्ताहन्तमा चलचित्रले उत्कृष्ट व्यापार गरेको थियो ।
मुनाल घिमिरेले निर्माण गरेको यस चलचित्रमा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निभाएका छन् । ‘माग्ने राजा’ को सफलताले केदार घिमिरेको स्टारडमलाई थप उचाइमा र्पुयाएको छ । केदार अभिनित दुई चलचित्रहरू ‘माइतीघर’ र ‘जेरी अन टप’ क्रमश: दशैँ र तिहारमा रिलिज हुँदैछन् ।