बिर्तामोड । चलचित्र ‘कोशेढुङ्गा’का मुख्य कलाकारसहितको टिमले सोमबार बिर्तामोडमा दर्शकसँग भेटघाट गरेका छन् ।
मुख्य कलाकार अभिनेत्री सुरक्षा पन्त, अभिनेता मन्जिल कुमार, निर्देशक सरोज पौडेलसहितको टिमले बिर्तामोडको सिने प्लाजामा फिल्म हेरिरहेका दर्शकलाई भेटेर चलचित्रबारे प्रतिक्रिया लिएका छन् ।
‘हामी जति पनि ठाउँमा पुग्यौँ, दर्शकले फिल्मलाई एकदमै माया दिनुभएको छ, राम्रो रेस्पोन्स पाएका छौँ’, निर्देशक पौडेलले भन्नुभयो, ‘फिल्मका हरेक क्यारेक्टरलाई दर्शकले माया गर्नुभएको छ, कथालाई आफ्नै मानेर कति ठाउँमा रुनु भएको छ ।’ अघिल्लो वर्ष पौडेलकै निर्देशनमा बनेको ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक सफल बनेको थियो ।
अभिनेत्री सुरक्षा पन्तले कोशेढुङ्गामा रहेको ‘शितल’ पात्रले नारी कमजोर हुन्न भन्ने कुरालाई प्रतिनिधित्व गरेको बताउनु भएको छ । ‘जसलाई हाम्रो समाजले कमजोर ठानिरहेको छ, नारीले केही गर्न सक्दैन भनिरहेको छ, उसले परिआएको खण्डमा के गर्न सक्छे, कुन हदसम्मको हिम्मत र त्याग गर्न सक्छे भन्ने कुरा यो पात्रले बोलेको छ’, उहाँले भन्नुभयो, ‘कोशेढुङ्गा हरेक नेपालीसँग जोडिएको कथा हो, एक किसिमको विद्रोह पनि हो ।’
अभिनेता मञ्जिल कुमारले यो फिल्मबाट आफूले धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । ‘फिल्ममा मैले जुन चरित्र पाएको छु, त्यो आमनेपाली युवाको कथा हो, हरेक परिवारमा फिल्ममा जस्तै सञ्जोगहरु छन्, जसले विदेशीभूमिमा पसिना बगाइरहनु भएको छ, आँशु बगाइरहनुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यस्तो क्यारेक्टरमा काम गर्न पाउनु मेरो भाग्य हो, दर्शकले धेरै माया दिनु भएको छ, सबै दर्शकलाई धन्यवाद छ ।’
कोशेढुङ्गा हेरेर दर्शक हलबाट बाहिरिरहँदा धेरैको आँखा रसाएको देखिन्थ्यो । धेरैको एकै खाले प्रतिक्रिया थियो, ‘फिल्मले सुरुमा हँसायो, पछि चाहिँ रुवायो ।’ चलचित्र हेरेर निस्किएका आदर्श विद्यामन्दिर मेचीनगरका विद्यार्थी फिल्म सकिएकाे निकैबेरसम्म भावुक भएका थिए । उनीहरूलाई सम्हाल्न निर्देशक र कलाकारलाई नै मुश्किल भएकाे थियाे ।
फिल्ममा शैक्षिक बेरोजगारी, वैदेशिक रोजगारी र देशको राजनीतिक बेथितिले निम्त्याएको समस्यालाई मूल विषयको रुपमा देख्न सकिन्छ ।
भदौ १२ गतेबाट रिलिज भएको ‘कोशेढुङ्गा’ले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको र अकुपेन्सी बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अभिनेता आर्यन सिग्देल, नीति शाह, प्रवीन खतिवडा, ऋचा शर्मा, सरोज खनाल, हिउँवाला गौतम, शिरु विष्ट, दिनेश शाक्य लगायतको अभिनय रहेको छ । प्रेबिल कडेल र किशो अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा दिनेश खड्का रहनुभएको छ ।