मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उनको आगामी फिल्म ‘कल्कि–२’ बाट हटाइएको छ । निर्माता कम्पनी वैजयन्ती फिल्म्सले यसबारे औपचारिक रूपमा पुष्टि गर्दै सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ ।
पोस्टमा भनिएको छ– ‘पहिलो फिल्मको सफलताको बाबजुद पनि हामी दीर्घकालीन साझेदारी कायम गर्न सक्षम भएनौं । वास्तवमा हाम्रो फिल्मले पूर्ण समर्पण र उच्च प्रतिबद्धता माग गर्दछ ।’
स्रोतका अनुसार, दीपिकाले पहिलो फिल्मको शुटिङ पूरा गरेपछि सिक्वेलमा करिब २० दिनको शुटिङ गरिसकेकी थिइन् । तर, पछि उनले आफ्नो पारिश्रमिकमा २५ प्रतिशतभन्दा बढी वृद्धिको माग गरेकी थिइन् ।
निर्माता कम्पनीले उनलाई प्रतिस्थापन गर्न असम्भव ठानिए पनि, उच्च पारिश्रमिक र व्यावसायिक असहमतिका कारण दीपिकालाई फिल्मबाट हटाएको बताइएको छ ।
त्यसपछि दीपिकाले आफ्नो इन्स्टाग्राममा एक भावनात्मक पोस्ट राख्दै शाहरुख खानसँगको पुरानो फोटो सेयर गरेकी छिन् । उनले लेखेकी छिन्– ‘लगभग १८ वर्ष पहिले ‘ओम शान्ति ओम’ को शुटिङको क्रममा उनले मलाई पहिलो पाठ सिकाएका थिए– फिल्म बनाउँदा अनुभव र सहकर्मीहरूको महत्व यसको सफलताभन्दा धेरै महत्त्वपूर्ण हुन्छ।’
उनले अगाडि लेखेकी छिन्– ‘म शाहरुखले सिकाएको कुरामा पूर्ण रूपमा सहमत छु र त्यस सिकाइलाई मैले त्यसपछि गरेका हरेक निर्णयमा लागू गर्दै आएकी छु ।’ अन्त्यमा, दीपिकाले औपचारिक रुपमा शाहरुख र उनी छैठौं फिल्ममा पनि संग–संगै दर्शकमाझ आउनेसमेत उल्लेख गरेकी छिन् ।