बिर्तामाेड । चलचित्र ‘वरिष्ठ बलराम’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले ढुङ्गा, बालुवा र खोलामाथि ‘दादागिरी’ चलाउने एक ठेकेदार र आफ्नो हैसियत परिवर्तन गर्न चाहने एक महत्त्वाकांक्षी युवाबीचको कटु सङ्घर्ष लाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
चलचित्रका मुख्य दुई पात्रहरू – रवाफिलो ठेकेदार दयाहाङ राई (‘वरिष्ठ’ को भूमिकामा) र सङ्घर्षशील युवा विजय बराल (‘बलराम’ को भूमिकामा) को टसल नै ट्रेलरको केन्द्रमा छ।
सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र आगामी कात्तिक ६ गते अर्थात् यस वर्षको भाइटिका को अवसर पारेर प्रदर्शनमा आउँदैछ। यसमा दयाहाङ राई र विजय बराल सँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा बनेको यस चलचित्रका निर्माताहरूमा आशिष् एच तामाङ र श्रीराज कार्की रहेका छन्। प्रदीप जी धामी र पुष्कर बि घिमिरे कार्यकारी निर्माता हुन्।
मनकृष्ण महर्जनले छायाङ्कन गरेको यो चलचित्र प्रशान्त सिवाकोटीको सङ्गीत, सम्राट् बस्नेतको एक्सन तथा प्रदीप लामाको नृत्य निर्देशन रहेको छ। चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।