बिर्तामोड । रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गते (डिसेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा अभिनेता प्रभात पल र अभिनेत्री स्मारिका ढकाललाई देख्न सकिन्छ । उनीहरुको पहिरन गाउँले रहेको छ । जसमा उनीहरुबीचको प्रेम सम्बन्ध झल्किएको छ ।
फिल्ममा उनीहरुसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्गबहादुर पुन, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।
आशिष ढकालको लेखन र निर्देशनमा बनेको यस फिल्मको निर्माता गोमन सिंह रहेका छन् । को-प्रोड्युसरमा रिता चौधरी रहेकी छन् । फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् ।
निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ । फिल्म वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ ।