बिर्तामोड । चाडपर्वमा नेपाली सिनेमा रिलिजमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । दशैँ-तिहार त झन् नहुने कुरै भएन । दशैँमा माइतीघर, हरिबहादुरको जुत्ता र बलिदान प्रदर्शनमा आए । तिनैवटा फिल्मले दर्शक झन्डै बराबरजसो दर्शक पाए ।
तिहारमा झन् चार वटा फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । रिलिजडेट अघिपछि भए पनि चारवटै फिल्मको मुख्य लक्ष्य भनेको तिहार फेस्टिबल नै हो । सबैभन्दा सुरुमा यही शुक्रबार असोज ३१ गतेबाट ‘जेरी अन टप’ रिलिज हुँदैछ । जसको बुकिङ समेत खुलिसकेको छ । कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने दुई नयाँ फिल्महरु ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ रिलिज हुँदैछ भने कात्तिक ७ गतेबाट ‘मैझारो’ प्रदर्शनमा आउँदैछ ।
अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार घिमिरे, जसिता गुरुङ लगायतको अभिनय रहेको सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’को ट्रेलरले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
त्यस्तै दयाहाङ राई र विजय बराललाई एकअर्कासँग भिँडाउन लागेको ‘वरिष्ठ बलराम’ को न्याउली वनैमा गीतले दर्शकको मन जितरिहेको छ । सुरेन्द्र पौडेलद्वारा निर्देशित यो फिल्मको टिजर र ट्रेलरलाई पनि दर्शकले मनपराएका छन् ।
निर्देशक अर्जुन सुवेदीले पनि ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिसकेका छन् । अन्तरजातीय प्रेम कथा समेटिएको फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बु , प्रेम सुब्बा मुख्य भूमिकामा छन् ।
‘मैझारो’ बाट निर्देशनमा डेब्यु गरेका कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढा विभिन्न ठाउँमा राजेश पायल राईलाई लिएर कन्सर्ट गर्दै दर्शक आकर्षित गरिरहेका छन् । पूर्वी नेपालको सुन्दर दृश्य र संस्कृतिलाई पर्दामा उतारेका उनले धीरज मगर, मिरुना मगर र दिया पुनको त्रिकोणात्मक लभस्टोरी पस्केर दर्शकलाई भरपूर मनोरञ्जन गराउने भएका छन् ।