Home Main Highlight News मुस्ताङमा छायांकनरत फिल्म ‘कबड्डी’ काे पाँचौँ संस्करण
 

मुस्ताङमा छायांकनरत फिल्म ‘कबड्डी’ काे पाँचौँ संस्करण

by Parda Sansar
A+A-
Reset

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्रका विभिन्न स्थानमा फिल्म ‘कबड्डी’ को पाँचौँ संस्करण छायांकन भएरहेको छ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्म मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ।

यसअघि लगातार ‘कबड्डी’ को एकदेखि चौथौ संस्करण सोही स्थानमा छायांकन भएको थियो। थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले ‘कबड्डी’ को पाँचौँ संस्करण पनि थासाङको थाक सात सय क्षेत्रलाई निरन्तरता दिइएको फिल्मका निर्माता मणिराम पोखरेलले जानकारी दिए। गत असोज २६ देखि मुक्तिनाथ मन्दिरमा फिल्मको शुभारम्भ गरी छायांकन सुरु गरिएको पोखरेलले बताए।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म थासाङको कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको निर्माता पोखरेलले जानकारी दिए। यसपटक थकाली कला, संस्कृति समेट्ने गरी विशेष महत्वकासाथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेल बताउँछन्।

मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सह-निर्देशक सोमनाथ खनालले जानकारी दिए। पाँचौँ संस्करणमा पुराना कलाकारसहित केही नयाँ पनि थपिएको खनाले खुलाए।

फिल्ममा दयाहाङ राई,  बुद्धि तामाङ, विजय बराल, रिश्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान, प्रमिला राईलगायतका कलाकारको अभिनय रहने सह-निर्देशक खनालले जानकारी दिए।

फिल्मका मुख्य पात्र दयाहाङ राई काजीको भूमिकामा छन्। काजीको कथावस्तुसँग थकाली संस्कृतिमा जोडिएको छ। थकाली काजीको जीवनमा आइपर्ने आरोहअवरोहलाई फिल्ममा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताए। नायकको भूमिकामा वीरकाजी शेरचन, काजीको भूमिकामा दयाहाङ रहेको उनले जानकारी दिए।

कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायांकन निरन्तर भइरहनु दर्शकहरूको माया र त्यहाँका समुदायको विश्वासको प्रतिफल रहेको उल्लेख गरिन्। काजीकी आमाको भूमिकामा रहेकी कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायको उद्गमस्थल थासाङ क्षेत्रमा छायांकन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताइन्। कबड्डी एक र दुईमा अभियन गरिसकेकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताइन्।

त्यस्तै, मैयाँको भूमिकामा रहेकी रेश्मा गुरुङले त्याहाँको नाउरीकोटमा मैयाँको होटल भनेर परिचित रहेकामा गर्व लागेको बताइन्। यो स्थानमा कबड्डीका छायांकनले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको गुरुङको भनाइ छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link