मुम्बई । एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘बाहुबली’ को नयाँ श्रृंखला आउने भएको छ । ‘बाहुबली युनिभर्स’ मा आधारित रहेर आउन लागेको श्रृंखलाको नाम हो- बाहुबली द इटर्नल वार, पार्ट १ ! यद्यपि, यो एनिमेटेड फिल्म हो । निर्माताले मंगलबार बेलुका नयाँ अध्यायको रोचक टिजर सार्वजनिक गरेका छन् ।
अहिले हलमा ‘बाहुबली’ का पहिलो र दोस्रो अध्यायलाई गाभेर ‘बाहुबली : द एपिक’ प्रदर्शन भैरहेको छ । यस्तोमा, निर्देशक राजामौलीले नयाँ एनिमेटेड श्रृंखला घोषणा गरेपछि प्रशंसक उत्साहित छन् ।
इशान शुक्लाले यो एनिमेटेड फिल्म निर्देशन गरेका हुन्, जो ‘स्टार वार्स : विजन्स’ र ‘द ब्यान्डिट्स अफ गोलक’ जस्ता चर्चित हलिउड फिल्मका लागि परिचित छन् । टिजरमा ‘बाहुबली’ को मूल कथाको झलक देखाइएको छ, जसले इन्द्र र बाहुबलीबीचको कथालाई अगाडि बढाउँछ ।
टिजरले यो फिल्म बाहुबलीको शिव भक्तिमा आधारित हुने र यसमा ब्रह्माण्डसँग सम्बन्धित नयाँ तत्त्वहरू पनि देखाइने सङ्केत गर्छ । यो फिल्म ‘बाहुबली’ शृङ्खलाको पहिलो एनिमेटेड भाग हो ।

