बिर्तामाेड । नेपाली बक्स अफिसमा १२ करोडभन्दा बढी कमाई गर्दै यस वर्षको पहिलो सफल चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा नोभेम्बर २१ बाट रिलिज हुने भएको छ । आर्टमान्डूको निर्माणमा बनेको चलचित्र भारतमा एसली प्रोडक्सनको वितरणमा यो चलचित्र पहिलो चरणमा दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा प्रदर्शन हुन निर्देशक नवीन चौहानले जनाएका छन् ।
भारतको सेन्सर बोर्डबाट पास भइसकेको फिल्मलाई एसभिएफ सिनेमा, कर्स्याङ फन्टाजी, नाम्ची इम्पेरियल, डेन्जोङ सिनेमा, वज्र सिनेमा, आईएनओएक्स गान्तोक, आईएनओएक्स सिटी सेन्टर सिलिगुडी लगायत प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि स्क्रिन सुरक्षित गरिसकेका छन् ।
चलचित्रको भारत प्रिमियर नोभेम्बर २० मा सिक्किममा हुनेछ, जहाँ नेपालबाट कलाकार विपिन कार्की, एलेक्स पारस, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान सहभागी हुनेछन् । वैशाख २६ मा नेपालमा रिलिज भई ५१ दिन मनाउन सफल ‘ऊनको स्वीटर’मा हिमाली भेगको कथा, पटकथा, अभिनय र संगीतका कारण वर्षकै चर्चित फिल्म बनेको थियो । भारतमा पनि यसले नेपाली भाषी तथा मौलिक कथामा रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने विश्वास राखिएको छ ।

