बिर्तामोड । मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हालसम्म यो सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उत्साहजनक शो पाएको हो । रिलिजको पूर्वसन्ध्यामा हिजो आयोजित प्रिमियर शोको प्रतिक्रियाले सिनेमाले राम्रो ब्यापार गर्ने देखिन्छ ।
यो सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा मोफसलमा १८ सहित कुल ३३ शो पाएको छ । यो सिनेमाको हालसम्म देशभरका सिनेमा घरमा करिब १०० शो दिइएको वितरक संस्था काफिया फिल्मस् र डिसिएनले जानकारी दिएका छन् । भोली विहानसम्म अझै केही शो थपिने अपेक्षा वितरकको छ । शुक्रबार सिनेमाले दर्शकबाट राम्रो वर्डअफ माउथ पाएर हलमा चाप देखिएपछि विस्तारै शो थपिँदै जाने निर्माण टिमको विश्वास छ ।
एकता पौडेको डेव्यु निर्देशकिय सिनेमाले पारिवारिक कथा पदामा देखाउने छ । हिजो बुधबार आयोजित प्रिमियर शोमा पनि उनले हर्षमा निर्देशक शिव रेग्मीको फ्लेवर पाएको प्रतिक्रिया पाउँदा हर्षित देखिएकी थिइन् । निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीलगायतको अभिनय रहेकाे छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
