बिर्तामाेड । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले १ मिनेट ५१ सकेण्ड लामो टिजर रिलिज गरेको हो । सार्वजनिक टिजरमा परदेशीन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात् कथालाई प्रस्तुत गरिएको छ ।
आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाको टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेर निदाएका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन् । छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिदो देखिन्छ । उनीहरु छोरा परदेशीन लागेको रात रोएरै उज्यालो बनाएका छन् ।
सिनेमाको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ । किनभने विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन् । परदेशीन लागेको नेपाली युवाको कथालाई सिनेमाको पर्दामा निर्देशन चन्द्र पन्तले पोख्न सफल भएका छन् ।
यो सिनेमामा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली र बालकलाकारमा समाइरा थापा र शान अधिकारीको अभिनय छ । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको सिनेमा लेखनमा अभिमन्यू निरवीले समेत सघाएका हुन् । सिनेमाको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।
यो सिनेमाको निर्मातामा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना तथा कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् । नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, कोशिस क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत, शाहिल खान र मिलन श्रेष्ठको सम्पाखन छ ।
