बिर्तामाेड । राजेश हमाल स्टारर फिल्म ‘प्रवासी जीवन’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म १५ फागुनदेखि देशब्यापी प्रदर्शनमा आउने जनाएका हुन् ।
अमेरिकामा नेपालीले गर्नुपर्ने संघर्ष र प्रवासी जीवनको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।
‘प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्ने गरेका छौँ’ निर्देशक क्षेत्रीले भने, ‘त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयको कुरा पनि समावेश भएकाले दर्शकले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न सक्ने उनले बताए । फिल्ममा हमालसहित सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसहित निर्देशक क्षेत्रीले पनि अभिनय गरेका छन् ।
