झापा । झापामा एक सयभन्दा बढी संघसंस्थाहरुको सहभागितामा सोमवार ‘पठन संस्कृति वर्ष २०२६’ (Reading Culture Year 2026) घोषणा गरिएको छ । बिर्तामोडमा आयोजित सो कार्यक्रम अभियानका लागि अभियन्ता, वीरता रिडर्स, रिडर्स अभियान नेपाल र झापाली साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा लेखक लीला उदासीले झापाको ऐतिहासिक पृष्ठभूमिका बारेमा चर्चा गर्नुभएको थियो । सोही कार्यक्रममा विमोचित लेखक तीर्थ सिग्देलको ‘त्यो झापा’ पुस्तकको बारेमा बोल्दै उहाँले पुस्तकलाई अहिलेको झापा बन्न र बनाउन योगदान र्पुयाउनेहरुको इतिहास ग्रन्थका रुपमा लिएको बताउनुभयो । उहाँले अझै धेरै विषयवस्तुको खोजी गर्न सकिने बताउँदै झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा पनि खोजी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारी एवम् सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले विश्वमा चलेका अभियान र झापामा भएका अभियानहरुको बारेमा विश्लेषण गर्दै अभियानले समाजमा पार्ने प्रभावका बारेमा भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘सबैको हित सोचेर सुरु गरिएको अभियान सधैँ सफल हुन्छ ।’ अभियान सञ्चालन गरिरहँदा आउने चुनौती र अवसर बारे धारणा राख्दै उहाँले झापामा चलेको समर्पण राष्ट्रिय अभियान, दुर्घटना न्यूनीकरण अभियान र एकका लागि एक अभियानको स्मरण गर्नुभयो । पठन संस्कृति वर्षलाई सफल बनाउन पुस्तक उपहार दिने, यात्रामा पुस्तक पढ्ने, पुस्तक बोक्ने, बैंक तथा वित्तीय संस्थाहरुमा पुस्तक कर्नर राख्ने जस्ता अवधारणाहरु उहाँले अघि सार्नु भएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता लेखक केदार शर्माले पठन संस्कृतिको विकासका लागि झापाले चालेको यो कदमको प्रशंसा गर्नुभयो । उहाँले धेरै पढ्नेहरुमा नकारात्मक परिणामका रुपमा अहंकार पाइने गरेको बताउँदै अहंकारलाई पनि पढाईबाटै मुक्त सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनमा लागू नहुने किताब बौद्धिक भारी मात्रै हुन्छ ।’
अभियानका बारेमा प्रकाश पार्दै इशा बुक्सका सञ्चालक केशव मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा लेखक तीर्थ सिग्देलद्वारा लिखित ‘त्यो झापा’ र हेम गुरागाँईको उपन्यास ‘दिगो समाधान’ लोकार्पण गरिएको छ ।
कार्यक्रममा साहित्य सर्जक दुर्गा सिग्देल, रश्मिशेखर, लिला अनमोल, राजकुमार विश्वकर्मा, पुण्य खरेल,कृष्ण प्रसाद मिश्र, रेखा सापकोटा, नमूना निरौला, दिपेन आचार्य, लक्ष्मी अच्यूत ढुङगाना, खगेन्द्र खुशी लगायतले विभिन्न साहित्य रचना प्रस्तुत गरेका थिए । साहित्य वाचन कार्यक्रम साहित्यकार खगेन्द्रा खुशीले सञ्चालन गर्नुभएको थियो भने बाँकी कार्यक्रम पठन अभियन्ता सन्तोष आचार्यले गर्नुभएको थियो ।

