झापा । माघ १६ देखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा आधारित कभर गीत र अभिनय प्रतियोगिता घोषणा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाउन वा अभिनय गर्नुपर्नेछ । सहभागीले आफ्नो रुचि अनुसार कभर गीत वा अभिनय प्रस्तुत गरी भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । तोकिएको समयसीमाभित्र अपलोड भएका भिडियोहरू मात्र प्रतिस्पर्धामा समावेश गरिनेछ ।
निर्देशक चन्द्र पन्तका अनुसार उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । भिडियो अपलोड गर्दा सहभागीले ओएसआर डिजिटलको आधिकारिक टिकटक अकाउन्ट मेन्सन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारको अभिनय छ ।
चलचित्रको संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिनुभएको छ भने कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाले गर्नुभएको हो । छायांकन डिओपी नवराज उप्रेतीले गर्नुभएको छ ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुनुहुन्छ ।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । फिल्म आगामी माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
