Home Main Highlight News ‘अग्निदहन फिल्म मात्र होइन, यो अभियान हो’

‘अग्निदहन फिल्म मात्र होइन, यो अभियान हो’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको कथामा बनेको चलचित्र ‘अग्निदहन’को निर्माण टिम अहिले प्रचारप्रसारका क्रममा मोफसलमा रहेको छ ।

यसै क्रममा निर्देशक घनश्याम लामिछाने, मुख्य कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन लगायतको टिमले बिहीबार बिर्तामोडमा पत्रकारसँग संक्षिप्त भेटघाट गरेको छ । मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई ‘मान्छे बोक्सी हुन्न’ भन्ने अभियानका रुपमा अघि सारिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रका निर्देशक घनश्याम लामिछानेले चेतनाको कमीका कारण समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वासलाई हटाउने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए । ‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरी ठूलो पर्दामा देखाउन लागिएको जनाइएको छ ।

‘हामीले पहिलो प्राथमिकतामा बोक्सी सम्बन्धी घटना भएका, हुने गरेका स्थानहरुलाई राख्यौँ, जहाँ पाँच सय वटा भन्दा बढी नि:शुल्क शो भइसकेको छ ।”, किन ढिला गरियो भन्ने पत्रकारको जिज्ञासामा जवाफ दिँदै निर्देशक लामिछानेले भने, ‘यो चलचित्र फिल्म मात्र होइन, अभियान हो ।’  चलचित्रको मुख्य उद्देश्य नाफा कमाउनु नभई जनचेतना जगाउने भएकाले प्रदर्शनबाट भएको आम्दानी समेत जनजागरणमा लगाइने बताए ।

कलाकार प्रकाश घिमिरेले सामाजिक रुपान्तरणको अभियानमा जोडिन पाएकोमा हर्षित रहेको बताए । “चलचित्रले मनोरञ्जनसँगै सामाजिक कुरीतिविरुद्ध औषधीको समेत काम गर्नुपर्छ”, उनले भने, “यो चलचित्रमा हामीले कुप्रथाविरुद्ध जागरुक गराउने प्रयास गरेका छौँ ।”

त्यस्तै, कलाकार प्रमिला तुलाचनले आफूले बिना पारिश्रमिक चलचित्रमा काम गरेको बताइन् । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सामाजिक अभियानमा सहयोग र्पुयाउन पाएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रमको समन्वय चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले गरेको थियो ।

चलचित्र ‘अग्निदहन’ को मुख्य संरक्षकका रुपमा मोहनराज पौडेल रहेका छन् । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अग्निदहन’ ९० मिनेटको रहेको छ । चलचित्रका अन्य कलाकारमा माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङ लगायत रहेका छन् ।

चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ बाट सम्मानित यस चलचित्रमा लोकमणि पौडेलको पटकथा र सम्वाद रहेको छ । कोविदशरण उपाध्यायको परिकल्पनामा बनेको ‘अग्निदहन’मा परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाँकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । चलचित्रको टिजर, ट्रेलर र गीत समेत यसअघि नै सार्वजनिक भइसकेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link