बिर्तामोड । अनुजा लेप्चा र कुन्दन भारध्वाजको डेब्यु नेपाली चलचित्र ‘देववाणी’ हलहरुमा प्रदर्शनरत छ । बिहीबार बिर्तामोडको क्युएफएक्स सिनेमाहलमा चलचित्रका निर्माताहरुले दर्शक तथा पत्रकारहरुसँग भेटघाट गरी चलचित्रका बारेमा जानकारी गराएका छन् ।
निर्माता हिराबहादुर लेप्चाले चलचित्र नेपाली, हिन्दी र भोजपुरी गरी तीन भाषामा रहेको बताएका छन् । भारतको सिमरा, राजस्थान, नेपालको वीरगञ्ज, काठमाडौँ लगायतमा चलचित्रको छायाँकन भएको उनले जानकारी दिएका छन् । झन्डै २ करोड लागतमा निर्माण भएको चलचित्रको निर्मातामा मीना खड्का पनि रहेकी छन् । हिन्दी र भाेजपुरी भाषामा पनि फिल्म चल्ने अपेक्षा निर्माण टिमकाे रहेकाे छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेन्मेन्टको सहकार्यमा बनेको ‘देववाणी’मा सुनील थापा, रवीन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल लगायत कलाकारको अभिनय रहेको छ ।
एक्सन ड्रामा जनरामा बनेको यस फिल्मले मधेश परिवेशमा रहेको शासकीय स्वरुपको कथा बोलेको छ । चलचित्रमा चेतनाबाट बञ्चित गराएर दबाएर राखिएका मानिसहरुको पीडा देखाइएको छ । चलचित्रको एक्सनको दर्शकहरुले प्रशंसा गरेका छन् भने कथा, संवाद र स्क्रिन प्लेप्रति गुनासो गरेका छन् ।
बाबुसाहेब बलामीको निर्देशनमा बनेको चलचित्रको पटकथा र संवाद निराजन मेहता मन्जितले लेखेका हुन् । श्री श्रेष्ठकाे द्वन्द्व रहेकाे चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका हुन् । यसअघि मंसिर ७ गते प्रदर्शनमा आउने तयारी रहे पनि चलचित्रलाई क्रिसमसको अवसरमा रिलिज गरिएको हो ।