काठमाडौं । नयाँ नेपाली फिल्म ‘मिरमिरे’को छायांकन प्रारम्भ भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम छायांकनका लागि शुक्रवार नै काठमाडौंबाट निस्किएपछि शनिवारदेखि छायांकन प्रारम्भ भएको हो । काभ्रेको पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकनको थालनी गरिएको हो ।
निर्देशक याम शेर्पाका अनुसार काभ्रे पलाञ्चोकबाट प्रारम्भ भएको छायांकन करिब ३५ दिनमा पूरा गर्ने लक्ष्य छ । शेर्पाका अनुसार यो फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा गरिने छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने यो फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत तथा सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा आदि रहेका छन् ।
फिल्ममा बाल कलाकारहरु शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ तथा नमनराज गजुरेलले पनि अभिनय गरिरहेका छन् ।
प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । निर्देशक शेर्पाले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए ।
यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका वितरक रोहित कट्टेल रहेका छन् । सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । यो फिल्म यही वर्षको अन्त्यसम्ममा प्रदर्शन हुने बताइएको छ, जसलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।