काठमाडौं । चर्चित फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौ श्रृंखलाको छायांकन दशैं लगत्तै सुरु हुने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले यसबारे जानकारी दिए । उनका अनुसार दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकारले निरन्तरता पाउनेछन् ।
केही कलाकार हेरफेर हुनसक्ने उनले बताए । ‘शीर्ष कलाकार दोहोरिनेछन् भने बाँकी केही कलाकार हेरफेर हुनसक्छन्’ गुरुङले भने ।
अभिनेता विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै आफूहरू छायांकन थलोमा जाने तयारी भैरहेको बताए । ‘टीकाको भोलिपल्टै हामी मुस्ताङतिर हिँड्ने कुरा छ’ उनले भने, ‘तिहार पछिसम्मै हामी उतै सुटिङमा ब्यस्त हुनेछौं ।’
यतिबेला निर्देशक समेत रहेका रामबाबुले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । कबड्डीका अघिल्ला चारै श्रृंखलाले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिसकेका छन् ।
यसबाहेक, बाँसरी फिल्म्सको अर्को बहुप्रतीक्षित फिल्म ‘जारी’को दोस्रो श्रृंखला संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि प्रदर्शन हुने तयारीमा छ।