प्रदर्शनरत फिल्म ‘खुस्मा’ को गीत ‘रूकुम मैकोट’ पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ। युट्युबको विश्वव्यापी हेरिएका शीर्ष १०० म्युजिक भिडिओमा यो गीत पर्न सफल भएको हो । सोमबार बिहान यो गीत ७३ औं स्थानमा छ। गीत युट्युबको नेपाल ट्रेन्डिङमा संगीत खण्डतर्फ केही दिनदेखि लगातार पहिलो नम्बरमा छ।
एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको लोकलयको यो गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्। भिडिओलाई अहिलेसम्म १ करोड ४२ लाखभन्दा बढी पटक हेरिएको छ। टिकटक र फेसबुक रिल्समा पनि गीत भाइरल छ।
यसअघि युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको ‘कश्मिरे पछ्यौरी’ अझै यथावत छ। यो गीत अहिले ८२ औं स्थानमा छ। बाबुकृष्ण परियार र दिपिका बयाम्बुको स्वर रहेको गीत केही सातायता टिकटक र फेसबुक रिल्समा निकै भाइरल छ।
यसको भिडिओलाई युट्युबमा अहिलेसम्म २ करोड ६१ लाखभन्दा बढीपटक हेरिएको छ। रिलिज हुनासाथ नचलेको यो गीत ६ महिनापछि मात्रै एकाएक चर्चामा आएको हो।
Source: Setopati