Home Main Highlight News २१०+  शाे पाएको ‘कबड्डी ५’ को ६० भन्दा बढी शो अग्रिम हाउसफुल
   

२१०+  शाे पाएको ‘कबड्डी ५’ को ६० भन्दा बढी शो अग्रिम हाउसफुल

डेढ करोडको ओपनिङ गर्ने सम्भावना

by Parda Sansar
A+A-
Reset

नेपाली फिल्म क्षेत्रको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आउनुअघि नै चर्चामा छ। कात्तिक ६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने फिल्मले रिलिजको पहिलो दिन २१० भन्दा बढी शो पाएको छ। तीमध्ये ६० भन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भइसकेका छन्।

पहिलो शो सुरु नहुँदै अग्रिम बुकिङमा देखिएको दर्शकको उत्साहले फिल्मको ओपनिङ सुखद हुने सङ्केत गरेको छ। देशभरका हलमा शो थपिने क्रम जारी रहेकाले प्रदर्शनको पहिलो दिन अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन १ करोड ५० लाख रुपैयाँको ओपनिङ गर्ने अनुमान गरिएको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘कबड्डी ५’ चर्चित ‘कबड्डी’ फ्रेन्चाइजको पाँचौँ शृङ्खला हो। अघिल्लो फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ मा काजीको प्रेमकथाले पूर्णता पाए पनि उनको जीवनको कथा भने नसकिएको निर्देशक गुरुङले बताएका छन्। दर्शकको चाहना र पात्रहरूसँग जोडिएको आत्मीयताका कारण नयाँ शृङ्खला निर्माण गरिएको हो।

फिल्मको कथामा काजी, बीके र छन्त्यालजस्ता परिचित पात्रसँगै नयाँ परिस्थितिको प्रवेश भएको छ। सार्वजनिक ट्रेलरअनुसार काजी र उनको टोलीले मुस्ताङमा ‘शान्ति होटल’ खोलेर नयाँ व्यवसाय सुरु गरेका छन्। काजीको वैवाहिक जीवनमा आउने उतारचढाव र विपिन कार्कीको समूहसँगको टकरावले कथालाई थप रोचक बनाउने देखिन्छ। सामाजिक कथावस्तुलाई हास्यरससँग जोडेर प्रस्तुत गरिएको फिल्मले अघिल्ला शृङ्खलाको लोकप्रियतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन्। त्यस्तै, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्। फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्।

नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने फिल्मको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनलले गर्दैछ। फिल्मले चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्रसमेत पाइसकेको छ।

‘कबड्डी’का अघिल्ला शृङ्खलाले दर्शकमाझ बनाएको लोकप्रियता र यसपटक कलाकारको आकर्षक संयोजनका कारण ‘कबड्डी ५’ प्रति दर्शकको अपेक्षा उच्च छ। अग्रिम बुकिङमा देखिएको उत्साहलाई बक्स अफिसको वास्तविक व्यापारमा रूपान्तरण गर्न सके फिल्मले घरेलु बजारमा बलियो ओपनिङ गर्ने सम्भावना देखिएको छ। यद्यपि, पहिलो दिनको वास्तविक कमाइ भने प्रदर्शनपछि सार्वजनिक हुने तथ्याङ्कले नै स्पष्ट पार्नेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link