आजदेखि विश्वभर प्रदर्शनमा आउँदै फिल्म ‘कबड्डी ५’ले नेपालमा अग्रिम बुकिङमै रेकर्ड ब्रेक गरेको छ। दसैँमा फिल्मको चापका बीच ‘कबड्डी ५’ले नेपालमा २४१ शो पाएको छ। तीमध्ये फिल्मको प्रदर्शन सुरु नहुँदै १४२ शो हाउसफुल भइसकेका छन्। यो आँकडा ‘कबड्डी ४’को रेकर्डभन्दा बढी हो।
आक्रामक अग्रिम बुकिङको अवस्थालाई हेर्दा आज दिनभरमा २०० भन्दा बढी शो हाउसफुल हुने र बाँकी ४१ शोमा ७५ प्रतिशतभन्दा बढी अकुपेन्सी पुग्ने अनुमान गर्न सकिन्छ। यस्तो अवस्था रहेमा फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन १ करोड ५० लाख रुपैयाँको कारोबार गर्न सक्ने देखिन्छ। यो पनि ‘कबड्डी ४’को रेकर्ड तोड्ने आँकडा हुनेछ। नेपाली फिल्ममा अहिलेसम्मकै रेकर्ड यही हो।
यसअघि ‘कबड्डी ४’ले नेपालमा १०० भन्दा बढी शो हाउसफुल गर्दै पहिलो दिन १ करोड २५ लाख रुपैयाँको बक्स अफिस कारोबार गरेको रेकर्ड बनाएको थियो। अब ‘कबड्डी ५’ले अग्रिम बुकिङमा देखाएको यो आक्रामक सुरुवातलाई पहिलो दिनको वास्तविक व्यापारमा कति रूपान्तरण गर्छ, त्यो भने प्रतीक्षाको विषय बनेको छ।


