काठमाडौं । वर्ष २०८१ का दुई अन्तिम फिल्मका रुपमा रिलिज भएका चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ गते शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।
कृषा चौलागाईंद्वारा निर्देशित ‘पिताम्बर’ तथा सौरभ चौधरीद्वारा निर्देशित ‘कर्मा’ हलहरुमा दर्शक तान्न प्रतिस्पर्धारत छन् । नयाँ वर्ष २०८२ को अवसर यी दुई फिल्म प्रदर्शनमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी फिल्मका लागि बुकिङ खुलाएका थिए । दुबै फिल्मलाई सन्तोषजनक शो दिएका छन् । बुकिङ भने ठिकठाक मात्रै रहेको छ ।
दुवै फिल्मका निर्माता तथा निर्देशक यी फिल्मले दर्शकको मन जित्ने कुरामा आशावादी देखिएका छन् । दुवै फिल्ममा बलियो स्टारकास्ट र एक्सन जनरा भएकाले पनि दुवै फिल्मका निर्माण टिम केही ढुक्क देखिएका हुन् ।
मल्टी स्टारर फिल्म ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, आर्यन सिग्देल, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ । विशाल चौलागाई निर्माता रहेको यो फिल्म केपी फिल्मसको व्यानरमा निर्माण भएको हो ।
प्रचार-प्रसारमा पिताम्बरको तुलनामा केही कमजोर देखिएको कर्मामा अभिनेता विपिन कार्की एक्सन अवतारमा देखिँदैछन् । निर्देशक चौधरीले अभिनेता कार्कीलाई पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत गर्ने हिम्मत गरेका छन् । यो फिल्ममा विपिनको अपोजिटमा उपासना सिंह ठकुरी, नेगेटिभ क्यारेक्टरमा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ ।
एक महिना अघि रिलिज भएको ‘अन्जिला’ र चैत २२ मा रिलिज भएको ‘वसन्त’ पनि केही शोका साथ हलमा प्रदर्शनरत छन् । यसरी हेर्दा दर्शकले छानी-छानी नयाँ वर्षलाई फिल्म हेरेर मनाउन सक्ने भएका छन् ।