पिट्सबर्ग (अमेरिका) । ‘नेपथ्य’को कन्सर्टमा दुई चीज छुट्दैनन्- एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा । पिट्सबर्गको ‘रक्सिन थिएटर’मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो । त्यो थियो- पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा ।
पुनर्वास गराइएका भुटानीको उल्लेख्य संख्या हलमा देखेपछि गायक अमृत गुरुङले मञ्चबाटै आह्वान गरे- विगतलाई बिर्सनु हुँदैन तर माफ गरेर अघि बढ्ने हौसलाचाहिँ राख्नैपर्छ । हामी संसारभरि फैलिएका नेपालीलाई आपसमा जोड्ने यही भाषाले हो । यो सद्भाव सदैव कायम रहोस् । कसैले कसैमा द्वेष नराखी अगाडि बढ्नुस् है ।’ प्रत्युत्तरमा दर्शकले केही बेरसम्मै ताली बजाए ।
चार्टियर्स एभेन्युमा छरिएका दर्शकका निम्ति निर्धारित समय अनुसारै बेलुकी ८ बजे हलका ढोका खोलिएका थिए भने त्यसको ठीक एक घण्टामा मञ्चमा अमृत र उनको टिम उपस्थित भएको थियो । ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट कन्सर्ट सुरु भएको थियो । त्यसलाई ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दियो ।
मञ्च र दर्शकदीर्घा दुवैतर्फको उत्साह र उत्तेजनाले सुरुवातदेखि नै आपसमा एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।
दर्शकको समूहमा थिइन् ७३ वर्षीया पेग्गी स्टर्लिङ । सानै उमेरमा जर्मनीबाट अमेरिका आएकी पेग्गीको फरक-फरक कन्सर्टमा उपस्थिति जनाउने बानीजस्तै छ । सक्रिय उमेर छँदा उनी पतिका साथ यस्ता सांगीतिक जमघटमा खोजी–खोजी जान्थिन् ।
कार्यक्रमभरि पटक-पटक नेपाली पहिचानका पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे । पैदलै गाउँबस्ती पुग्दा गीत संकलन गरेको र कतिपय गीत उतैको रमाइलोमा तयार पार्ने गरेको पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्वीरले पनि उनको भनाइलाई सघाइरहेको देखिन्थ्यो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गमा सकिएसँगै ब्यान्ड अब फेरि उत्तरतर्फ उक्लनेछ । अबको गन्तव्य हुनेछ भव्य सिकागो सहर । जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यो सहर कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ । त्यहाँस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ ।
सिकागोपछि ब्यान्ड बोस्टन सहर पुग्नेछ । त्यहाँको ‘रोयाल बोस्टन’ हलमा जुन ११ मा नेपथ्यको प्रस्तुति रहनेछ । त्यसपछि भने १४ सदस्यीय नेपथ्य टोली नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । त्यहाँको ‘पिडमोन्ट हल’मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षको अमेरिका यात्रा बिट मार्दै ब्यान्ड स्वदेश फिर्नेछ ।
यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन् ।
अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइटबाट टिकट काट्न सकिने जनाइएको छ ।