Home Main Highlight News त्रैमासिकमा बक्सअफिस : ४ वटाले करोड कटाउँदा १० वटा लाखमै सीमित
 

त्रैमासिकमा बक्सअफिस : ४ वटाले करोड कटाउँदा १० वटा लाखमै सीमित

by Parda Sansar
A+A-
Reset

काठमाडौं । २०८३ वैशाखदेखि असारसम्मको तीन महिनालाई फर्केर हेर्दा नेपाली बक्स अफिसमा उराठलाग्दो दृश्य देखिन्छ । यस अवधिमा रिलिज भएका १४ चलचित्रमध्ये एउटा चलचित्रले मात्र लगानी सुरक्षित गर्दै निर्माताको गोजी भर्न सफल भयो । बाँकी १३ वटा चलचित्र व्यावसायिक रूपमा असफल भएका छन् ।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यो त्रैमासिकमा प्रदर्शनमा आएका चलचित्रहरूले कुल १९ करोड ३७ लाख १८ हजार ६ सय १० रुपैयाँको व्यापार गरेको देखिन्छ ।

वैशाख, जेठ र असार गरेर यस अवधिमा नेपाली बक्स अफिसमा साताकै दुईवटासम्म चलचित्र रिलिज हुने होडबाजी पनि चले तर, व्यापारिक नतिजा भने उत्साहजनक देखिएन । करोडौंमा बनेका केही चलचित्रको ब्यापार हजारमै अड्किए ।

यो तीन महिनाको अवधिमा व्यापारिक सफलताको स्वाद चाख्ने एक्लो र निर्विकल्प सिनेमा बन्यो-‘लालीबजार’ । वैशाख २५ गते रिलिज भएको यस चलचित्रले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै सर्वाधिक सफल चलचित्र बन्यो । अन्य सिनेमाहरू हलमा दर्शक पर्खिरहँदा लालीबजारले भने निर्मातालाई ठूलो मुनाफा दिलाउन सफल भयो ।

नेपाली बजारमा १ करोडको आँकडा पार गर्नुलाई सफलताको एउटा खुड्किलो मानिन्छ । तर, महँगो लगानी र हलसँगको सेयर बाँडफाँडका कारण १ करोड माथि कमाएका तीन चलचित्रले पनि लगानी उठाउन सकेनन् ।

१ बैशाखमा प्रदर्शन भएको तुलसी घिमिरे निर्देशित ‘पहाड’ ६३ लाख ९३ हजार १६२ रुपैयाँमा खुम्चियो ।

वैशाख ११ गते प्रदर्शन भएको ‘परालको आगो’ले ४ करोड २८ लाख कलेक्नस गरेको छ । यसले भने डिजिटल र इन्टरनेसनल राइट्सबाट लगानी सुरक्षितसम्म गरेको हुनसक्छ ।

वैशाख २५ गते लालीबजार, मालती मंगले र गुरुआमा एकसाथ प्रदर्शनमा आए । जसमध्य ‘लालीबजार’ मात्र यस्तो चलचित्र बनेको छ, जसले व्यापारिक सफलताको स्वाद चाखेको छ । यसले आफ्नो लगानी सुरक्षित मात्र गरेन, निर्मातालाई नाफासमेत दिलाएको छ । यो चलचित्रले ९ करोड ३२ लाख ९ हजार ९ सय २५ रूपैयाँभन्दा बढी कमाइ गर्दै वर्षकै सर्वाधिक सफल फिल्म बनेको छ ।

मालती मंगले ५१ लाख ६३ हजार ६ सय ९३ र ‘गुरूआमा’ ले २९ लाख ४२ हजार रुपैयाँ ग्रस कलेक्सन गरे ।

जेठ १ गते ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शन भए । लाइफ ड्यामेज ३४ लाख ६६ हजार २ सय ९० र एक मुठ्ठी बादल ५ लाख २१ हजार रुपैयाँ ग्रस कलेक्सन गरे ।

‘मितज्यू’ र ‘काजी’ जेठ ८ गते प्रदर्शनमा आए । ‘मितज्यू’ १ करोड ३२ लाख कलेक्सन गरेको छ । ‘काजी’को ४४ लाख ४६ हजार ६० रुपैयाँ मात्रै कमाउन सफल भयो । तर, स्टार कास्ट रहेका यी चलचित्रले पनि लगानी सुरक्षित गर्न सकेनन् ।

जेठ १५ गतेदेखि प्रदर्शनमा आएको ‘रोल नं १’ ले गत शनिबार सफलतापूर्वक ५१ औं दिन पूरा गर्‍यो । यो चलचित्रले गत आइतबारसम्म १ करोड ७८ लाख २३ हजार ९ सय ८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘रोल नं १’ करोड क्लबमा प्रवेश गरे पनि हालसम्म लगानी सुरक्षित गर्न सकेको छैन ।

‘रोल नं. १’ ले दर्शकलाई थप आकर्षित गर्ने उद्देश्यले असारको पहिलो सातादेखि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

यसैगरी जेठ १५ मै रिलिज भएको अर्को चलचित्र ‘कुम्भ’ ले ४ लाख २५ हजार ८ सय ८५ रूपैयाँ मात्र ग्रस कमाएको छ ।

जितु नेपालको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आई एम जितबहादुर’ को बक्स अफिस कलेक्सन निकै निराशाजनक गर्‍यो ।  असार ५ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले जम्मा ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।

असार १२ गतेबाट प्रदर्शनमा आएको ‘जाँड’ले १ लाख २६ हजार कलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ ।

असार २६ गते ‘भागदौड’ यो वर्षकै हालसम्मको सबैभन्दा कम बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनेको छ ।  ‘भागदौड’ ले ९२ हजार ९९५ रुपैयाँ मात्रै कलेक्सन गरेको छ ।

यो तीन महिनाले नेपाली निर्माता निर्माताहरूलाई गम्भीर पाठ सिकाएको छ । केवल सिनेमा बनाउनु र हलमा लगाउनु मात्र ठूलो कुरा होइन, दर्शकको मन जित्ने कथा र सही रिलिज मिति छनोट नगर्ने हो भने करोडौँको लगानी ‘बालुवामा पानी’ सरह हुने निश्चित छ । आगामी महिनाहरूमा रिलिज हुने सिनेमाले यो घाटा पूर्ति गर्छन् या गर्दैनन्, त्यो भने हेर्न बाँकी नै छ ।

क्र.सं. चलचित्रको नाम ग्रस कलेक्सन (रु.) कैफियत
लालीबजार ९,३२,०९,९२५ करोडमा (सर्वाधिक सफल)
परालको आगो ४,२८,००,००० करोडमा
रोल नं १ १,७८,२३,९०८ करोडमा
मितज्यू १,३२,००,००० करोडमा
पहाड ६३,९३,१६२ लाखमा
मालती मंगले ५१,६३,६९३ लाखमा
काजी ४४,४६,०६० लाखमा
लाइफ ड्यामेज ३४,६६,२९० लाखमा
आई एम जितबहादुर ३१,०७,६९२ लाखमा
१० गुरूआमा २९,४२,००० लाखमा
११ एक मुठ्ठी बादल ५,२१,००० लाखमा
१२ कुम्भ ४,२५,८८५ लाखमा
१३ जाँड १,२६,००० लाखमा
१४ भागदौड ९२,९९५ लाख भन्दा कम

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link