काठमाडौं । नेपाली गायिका सिम्पल खरेलले आफ्नो हिट गीत ‘राधा रानी लागे’मार्फत इतिहास रचेकी छिन्, जुन गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको कुनै नेपाली कलाकारको गीत बनेको छ । गीतलाई युट्युबमा २२ करोड ८० लाख पटक हेरिएको छ । यो हिन्दी भजनलाई नेपालसहित भारतबाट समेत धेरै हेरिएको छ ।
‘राधा रानी लागे’मा परम्परागत लोक तत्व र आधुनिक शैलीको मिश्रण छ । भक्तपुर निवासी सिम्पलको परिचय २५ वर्षको उमेरमै सुमधुर भजन गायिकाको बनेको छ ।
उनका अन्य भजनलाई पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त भैरहेको छ । उनले भजन गायनमार्फत आफूलाई भारतमा समेत चिनाइरहेकी छन् । उनी एकसाथ नेपाली र हिन्दी गीत गाउँछिन् ।
यसबाहेक सिम्पल टिकटक, युट्युब र रिल्समा कन्टेन्ट क्रिएटर पनि हुन् । सौन्दर्य प्रशाधन, पहिरन र मेकअपबारेका भिडियो उनी पोस्ट गर्छिन् । संगीतकर्म र कन्टेन्ट क्रिएसनले उनलाई डिजिटल प्लाटफर्ममा बेग्लै पहिचान दिलाएको छ ।
अहिलेको पुस्तामा धेरै भजन गाउने ट्रेन्ड धेरै छैन । तर अडियन्सले राम्रो प्रतिक्रिया दिएपछि भने भिन्न सन्तुष्टि पाएको र भजन गायनलाई निरन्तरता दिएको सिम्पल बताउँछिन् । ‘गायिका हुनुमा मलाई यतिसारो गर्व कहिल्यै लागेको थिएन । तर भजन गाएपछि मलाई भिन्न खालको सन्तुष्टि भयो र खुसी पनि लाग्यो । अब भजन र अन्य जनराका गीतमा सन्तुष्टि मिलाउने प्रयास गर्दैछु,’ उनी भन्छिन् ।
युट्युबमा सर्वाधिक हेरिने नेपाली भाषाको गीतको रेकर्ड चाहिँ अहिलेसम्म फिल्म ‘दुई रुपियाँ’को गीत ‘कुटुमा कुटु’सँग छ ।