बिर्तामोड । झापामा पहिलो पटक नेवा: देय् दबू झापाको आयोजनामा हास्यव्यङ्ग्य र लाखे नृत्य प्रतियोगितासहित ‘गाईजात्रा उत्सव’ शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर रहनु भएको थियो । उहाँले सबै जातजातिले आफ्नो भाषा संस्कृति जगेर्ना गर्नुपर्ने बताउँदै सबैले भाषा संस्कृति र सभ्यतालाई मासिन दिन नहुने बताउनुभएको छ ।
कार्यक्रममा उहाँले संस्कृति जगेर्नाका लागि सरकारको मुख ताक्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘आफैँले ससानो सहयोग संकलन गरेर पनि आफ्नो भाषा, कला संस्कृति जगेर्ना गर्नुपर्छ ।’ झापामा रहेको राई, लिम्बू, नेवार, मेचे, धिमाल लगायत समुदायको संग्रहालय निर्माण हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रम संयोजक तथा नेवा: देय् दबु कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले स्वागत गनुभएको भएको कार्यक्रममा दबूका झापा अध्यक्ष यामकुमार श्रेष्ठले औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा साहित्यकारहरु पिनाकी कोइराला, गणेश निरौला, केशव आचार्य, मदन भण्डारी, विकास शिवा, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ लगायतले हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक प्रस्तुत गरेका थिए । हास्यव्यङ्ग्यमा सामाजिक, राजनीतिक विकृति विसंगतिविरुद्ध तिखो प्रहार गरिएको थियो । कार्यक्रममा नेवारी संस्कृति झल्कने कुमारी नृत्य, नेवारी गीत प्रस्तुत गरिएको थियो ।
लाखे नाँच प्रतियोगितामा बिर्तामोड नेवा: देय् दबू प्रथम, बाह्रदशी नेवा: देय् दबू द्वितीय र नेवा: पुच: खुट्टेडाँगी तृतीय भएको दबूका झापा सचिव लक्ष्मण ज्वयल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा झापाभरका १० वटा लाखे समूह सहभागी रहेको थियो । पहिलोपटक आयोजित गाईजात्रा उत्सवमा भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेवाः मिसा दबू झापा र नेवाः देय् दबू बिर्तामाेडकाे सहअायाेजना रहेकाे थियाे ।