बिर्तामोड । जेनजी आवाजको रुपमा युगश्री मिश्रको गीत ‘अनुरोध’ सार्वजनिक भएको छ । गीतकार कृष्णप्रसाद मिश्रको शब्द रचना र विषम आचार्यको संगीत रहेको गीतमा युवा पुस्ताले अब कस्तो देश चाहेका छन् भन्ने कुरालाई देखाइएको छ ।
बिर्तामोडस्थित सरगम संगीतालयमा संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बिच गीतकार टिका भट्टराईले गीत सार्वजनिक गर्नुभएको थियो । यस गीतको निर्देशक समेत रहेका संगीत गुरु दिपक रायमाझीले शुभकामना मन्तव्य राख्दै ‘अनुरोध’मा भर्खरै भएको जेनजी आन्दोलनको उद्देश्य र भावना समेटिएको बताउनुभयो ।
कार्यक्रम गीतकार कृष्ण मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले डेढ वर्षअघि नै गीत रचना गरेको र हाल भएको जेन्जी आन्दोलन एउटा संयोग भएको बताउनुभएको छ । ‘गीतमा आफ्ना आमाबुबालाई अनुरोध गरिएको छ कि यो अवस्थाले देश बन्दैन’, उहाँले भन्नुभयो, ‘हिजो हामीले एक खाले शासनका विरुद्धमा लड्यौँ तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएसम्म अस्थिरताको राजनीति चलिरहनेरहेछ, यो गीतले पनि यही सन्देश दिएको छ ।’
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराईले गीतले समसामयिक विषयवस्तुलाई उठान गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सरगम संगीतालयका अभिभावक लिलानाथ खत्री खतिवडाले गर्नुभएको थियो ।
गीतमा रोहित लामगादेको कोरियोग्राफी र सुवास लिम्बुको छायांकन तथा सम्पादन रहेको छ । पंकज स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको म्युजिक भिडियोलाई युगश्री अफिसियल युट्युव च्यानलमा राखिएको छ ।