काठमाडौं । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘आबाट आमा’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा बनेको यो चलचित्र आगामी माघ १६ गते रिलिज हुने तयारी रहेको छ ।
सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरू प्रदीप रावत, बिपना थापा, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती र रविन्द्र झालाई देख्न सकिन्छ । पोष्टरले पारिवारिक भावना, संघर्ष र मातृत्वकेन्द्रित कथावस्तुको झल्को दिएको छ ।
आर्या पन्त मुख्य निर्माता रहेको चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश कुँवर, ध्रुव न्यौपाने, क्षितिज ढुङ्गाना निर्माता रहेका छन् । करन सिंह रसाइली कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
पोस्टरमा एउटा सम्वाद पनि रहेको छ – ‘बा आमाले पसिनाले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ ।’ यसबाट यो चलचित्रमा वैदेशिक रोजगारको बाध्यता देखाउने अनुमान गर्न सकिन्छ । पोस्टरमा एकातर्फ खुशी र अर्कोतर्फ तिनै कलाकारको दु:ख देख्न सकिन्छ ।

