झापा । नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ ले फ्रान्सको प्रसिद्ध ‘वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट एसियाली फिल्मको पुरस्कार जितेको छ । मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानेर फिल्मलाई अवार्ड प्रदान गरिएको छ ।
फिल्मले नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरेको छ । जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणको रूपमा बुझाउने दार्शनिक सन्देश पनि यस डकुमेन्ट्री फिल्ममा समेटिएको छ ।
एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक समेत रहेका बानियाँले गरेका हुन् । डकुमेन्ट्रीमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्राण्ड एम्बेसडर कोनराड एन्ट्कर, १८ पटकसम्म सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह, पर्वतारोही आङ पासाङ शेर्पा फिचर्ड छन् ।
फिल्मको निर्देशन र सम्पादन नीरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् भने कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जयनारायण शाह निर्माता हुन् ।

