Home Main Highlight News पिएनएम एलएलसीले लियाे ‘जलाकी’को अमेरिका र क्यानडा प्रदर्शन अधिकार
 

पिएनएम एलएलसीले लियाे ‘जलाकी’को अमेरिका र क्यानडा प्रदर्शन अधिकार

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ ।

पिएनएम एलएलसीले सिनेमाको अमेरिका र क्यानडा प्रदर्शन अधिकार खरिद गरेको हो । यी दुई देशमा सिनेमाको प्रदर्शन मिति वितरक र निर्माताबीचको आपसी सल्लाहमा तय गरिने निर्देशक मगरले बताएका छन् ।

सिनेमाका सार्वजनिक गीतहरूले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेका छन् । ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन् ।

विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । अन्य दुई गीत पनि सामाजिक सञ्जालका रिल्स तथा सर्ट्समा रुचाइएका छन् । सार्वजनिक सामग्रीले सिनेमाप्रति दर्शकको उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ ।

आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘जलाकी’ मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ । निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमामा मगर र गुरुङ समुदायको जीवनशैली, परम्परा र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको उनले बताएका छन् ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ । त्यस्तै, क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् । यसै सिनेमामार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link