- एकराज प्रधान
विषयवस्तु
सुदर्शन थापाको निर्देशन र पूजा शर्माको लगानीमा बनेको फिल्म रावायणको कन्टेन्ट हिन्दू धर्मबाट इन्स्पायर्ड छ । राम, सीता र रावणको चरित्र र प्रवृत्तिलाई फिल्मले वर्तमान परिस्थितिको कथामा देखाउन खोजेको छ । सत्ता र शक्ति हासिल गर्न मान्छे कसरी रावण बनिरहेको छ भन्ने विषयवस्तुबाट फिल्म सुरु हुन्छ । अहंकार र घमण्डले मान्छेलाई कहाँबाट कहाँ र्पुयाउँछ भन्ने कथा पनि फिल्मले बोलेको छ ।
परिवेश
फिल्मको परिवेशको कुरा गर्नुपर्दा अधिकांश सिनहरु र कस्ट्युम मधेशको रहेको छ । ठाउँको नाम दिइएको छ ‘जब्बरगञ्ज’ । जहाँ अरुको रगत बगाएर शासन गरिरहेकाहरु आफूलाई बाघ सम्झेर बाँचिरहेका छन् । पुलिस प्रशासन, देशको कानून पनि जब्बरगञ्ज एरियामा कमजोर देखिएको छ । अर्कोतिर पत्रकारिता र पाइलटको कथालाई पनि हल्का देखाइएको छ ।
भाषा
फिल्ममा भोजपुरी, हिन्दी र केही उर्दु सायरीहरुको पनि प्रयोग भएको पाइन्छ । मधेशमा बोलिने यी भाषाहरुले फिल्मलाई स्थानीय परिवेशमा जोड्न मद्दत र्पुयाएको छ ।
कथानक/पात्र
स्पोइल नगरी कथानकलाई एक लाइनमा भन्नुपर्दा हिंसाबाट राज चलाइरहेको रावण रुपी ‘कान्छा’ले सीतालाई देखेपछि जसरी पनि आफ्नो बनाउने चक्करमा फिल्म चलिरहन्छ । फिल्ममा एकतर्फी प्रेम, धोका, रिभेन्ज स्टोरी र रावणको चरित्र चित्रणलाई अनेक कोणबाट देखाउन खोजिएको छ ।
स्टार कास्टको कुरा गर्नुपर्दा पल साहलाई डबल रोलमा देख्न सकिन्छ । एज अ भिलेन क्यारेक्टर कान्छा र हिरो क्यारेक्टर राघव । पूजा शर्मालाई वैद्ययी एज अ जर्नालिस्टका रुपमा देख्न सकिन्छ । त्यसपछिको नाम लिनु पर्दा प्रमोद अग्रहरीको लिनुपर्छ । जसलाई फिल्मको स्ट्रङ क्यारेक्टर अब्दुल आलमको रुपमा देख्न पाइन्छ । फिल्ममा प्रकाश शाहलाई डेन्जर लुक्समा एज अ काल्काको रुपमा देख्न पाइन्छ । जसको इन्ट्रीपछि दर्शकले धेरै ठाउँमा हाँस्न पाउँछन् । फिल्ममा प्रियंका कार्कीलाई मुस्लिम नारीका रुपमा देख्न पाइन्छ । फिल्ममा अरु पनि थुप्रै क्यारेक्टरहरु छन्, जसले फिल्ममा राम्रै प्रभाव पार्छन् ।
सकारात्मक पक्ष
फिल्मको सबैभन्दा बलियो पार्ट मलाई चाहिँ एक्सन सिन र त्यसको एक्जिक्युसन लाग्यो । एक्सन मुभहरुमा गरिएको मेहनत पर्दामा हेर्न निक्कै नै मज्जा आउँछ । भाइलेन्स सिनहरु बढी नै भएकाले यो फिल्म एडल्ट सर्टिफाइड रहेको छ । साँच्चै नै केही सिनहरु त रौँ ठड्याउने नै छ । श्रीहरि श्रेष्ठको एक्सन र समीर मियाको भिएफएक्सको कम्बिनेसनको हामीले तारिफ गर्नै पर्छ ।
अर्को बलियो काम रहेको छ प्रमोद अग्रहरीको मन तान्ने अभिनय । मधेशी टोन, डायलग डेलिभरी र क्यारेक्टरमा घुसेर गरेको अभिनय निक्कै बलियो छ । जसले पल, पूजा र प्रियंकाको अभिनयलाई पछाडि पारिदिएको फिल हुन्छ । काल्का प्लेड बाइ प्रकाश शाहको अभिनयमा पनि मज्जा आउँछ । पलको अभिनय भने एभरेज लाग्छ । हुन त दुई खाले क्यारेक्टर एउटै फिल्ममा गर्नु चानचुने कुरा हुँदै होइन । ‘कान्छा’ क्यारेक्टरमा उनको अझै भारी आवाजको आवश्यकता महसुस हुन्छ भने राघव क्यारेक्टरको ब्युल्डअप नै कमजोर लाग्छ ।
मधेशको कथामा निक्कै कम फिल्म बनेका छन् । अझ गुण्डाराज, ग्याङस्टरको विषयमा कमै सिनेमा बनेका छन् । फिल्ममा यो आँट गर्नु र साउथ मुभीलाई टक्कर दिने खालको प्रेजेन्टसनलाई पनि हामीले सकारात्मक मान्नु पर्छ । भलै केही कुरा कपी भएको फिल हुन्छ तर एक्सेप्टेबल नै लाग्छन् ।
रावयणमा युज भएको बडी ल्याङ्ग्वेज, कस्ट्युम र रिपिटेड डायलगहरु देख्दा साँच्चै नेपाली फिल्मले अब केही गर्छ भन्ने आशा पलाएको छ । जसले पात्रहरु र उनीहरुको चरित्रलाई यादगार बनाउन दर्शकलाई निक्कै सहज बनाएको छ ।
कमजाेरी
कमजोरीहरु केलाउनु पर्दा चाहिँ सुरुमै मैले भन्नै पर्छ – संवादमा हिन्दी र नेपालीको मिसावटले झर्को लगायो । अझ प्रियंका कार्कीले हिन्दीबाट सुरु गरेर नेपालीमा अर्थ्याउँदै, सम्झाउँदै गरेको कुरा मलाई चाहिँ पचाउनै गाह्रो भो । हिन्दी फिल्म हेरिरहने हामीलाई केही क्यारेक्टरको हिन्दी टोन र डबिङ चित्त बुझ्दो लाग्दैन ।
पूजा शर्माको हेटर भन्नु होला, तर यो फिल्ममा दिइएको यति राम्रो क्यारेक्टरलाई पनि उनको ओभर एक्टिङ र चर्को डायलग डेलिभरिले झर्कै लगायो मलाई चाहिँ । एउटा सिनमा डराएर भागिरहेको देखिन्छ, अर्को सिनमा म त कस्सैसित डराउँदिन भनेर गफ दिइरहेको देखिन्छ ।
हाफटाइमपछिको फस्ट सिनले त झनै बोर गराउँछ । पलले कन्भिन्स गराइरहेका छन्, अरुले पत्याइरहेका छैनन् । ए भयो न कत्ति एउटै कुरामा अल्झिएको, हामीले बुझ्यौँ त भन्नु जस्तो हुन्छ ।
केही सिनहरुको रियाक्सनमा पल पनि चुकेका छन् । रोमान्टिक मुडमा राम्रो देखिए पनि रिसाएको हेर्दा लाग्छ, रिसाएको बेला चाहिँ कन्भिन्सिङ एक्सप्रेसन फिल भएन । अझ क्लोज अपबाट दाह्री र जुँगाको कलर नमिलेको देख्दा दाह्री-कपाल लगाइदिने र मेकअप गर्नेलाई गाली गर्न मन लाग्छ ।
चाइल्ड क्यारेक्टरले त निराशै बनाउँछन् । खासमा उनीहरुलाई स्टोरी ब्युल्डअप र इमोसन क्रिएट गर्न प्रयोग गरिएको छ । उनीहरु त साना छन्, इनोसेन्ट हुन्छन्, हेर्नु पर्ने त डाइरेक्टरले हो नि ! टेक लिन अल्छी गरेर भयो त ? सौरभ लामाको छायांकन कलालाई चाहिँ सम्मान छ । कम्पोजिसनहरु निक्कै लोभलाग्दा छन् ।
एक्सन सिनमा पनि केही स्टन्टहरु लजिकल लाग्दैन । जस्तो कि बन्दुकको गोलीले झुप्रोलाई उडाएको सिन । ट्रेलर हेर्दा त कार उडाएजस्तो लागेको थियो, फिल्ममा त झुप्रो पो रहेछ ।
अर्को कुरा फिल्ममा लार्जर देन लाइफ सिन क्रिएट गर्नु ठिकै हो, त्यसो भन्दैमा मान्छेलाई जतापायो त्यता उडाउनु त भएन नि । उड्नुको पनि त नियम हुन्छ होला ।
स्क्रिन प्ले र पटकथा निक्कै कमजोर देखिन्छ । फ्ल्यासब्याक सिन र चलिरहेको सिन छुट्याउन घोत्लिनु पर्छ । सिनहरुको कटिङ ल्यान्डिङ नभई चेन्ज भएको जस्तो लाग्छ । सम्पादन र कलर ग्रेडिङमा पनि जर्क भेटिन्छ । कलर टोन अलिक बढी नै ओभर स्याचुरेटेड फिल भयो मलाई चाहिँ ।
डबल रोलवाला कन्सेप्टमा थुप्रै फिल्म हेरिसकेकाले होला केही सिनहरु प्रिडिक्टेबल भइदिन्छ । इमोसनल सिनको ब्युल्डअप र प्रेजेन्टेसन पनि केही कमजोर लाग्छ । फिल्मले जति दर्शकलाई अत्याउनु पर्ने हो फिल्मको चरमोत्कर्षमा त्यति अत्याउँदैन । फिल्मको इन्डिङले पुरानै फर्मुलालाई पछ्याउँछ ।
गीतसंगीत
गीतसंगीतको कुरा गर्नुपर्दा एकदमै एभरेज लाग्छ । लभ सङमा जति लभ सिक्वेन्सको ब्युल्डअप देखिनु पर्ने हो त्यो देखिँदैन । अर्थात् स्लो गीतमा नचाउँदै ठूल्ठूला सेट देखाउनुभन्दा पनि प्रेमिल कुरा देखाउन सकेको भए अझै बलियो हुने थियो भन्ने लाग्छ । आइटम डान्सको त झन् के भनौँ र ! यो गीत हेर्ने र नर्मल कुनै एउटा भोजपुरी गीत हेर्ने हो भने त्यसैले जित्छ । रावायण बोलको थिमसङ भने केही हदसम्म दमदार लाग्छ ।
ओभरल एक्सन ड्रामा बेस्ड यो मुभीले दर्शकलाई चाहिँ फूल इन्टरटेन गराउँछ । ब्लडी सिन बाहेकको कुरा गर्ने हो भने फिल्म इन्ट्रेस्टिङ छ । पलको एन्टी हिरोइज्मले दर्शकको माया पाउनेमा कुनै दुईमत छैन । उनको हिरो क्यारेक्टरलाई भन्दा ‘कान्छा’को रुपमा भिलेन क्यारेक्टर यादगार रहनेछ ।
बनिसकेको फिल्ममा यो पुगेन, त्यो पुगेन भनेर टिप्पणी गर्न त हामीलाई सजिलै छ । तर, फिल्म निर्माण जटिल विषय हो । कथा परिकल्पनाबाट सुरु हुने फिल्मको यात्रा अन्तिम डबिङसम्म पुग्दा अनेकौँ चरण पार गर्नु पर्छ । बजार सानो भएकाले लगानीकर्ताले पनि निक्कै सोचेर मात्र लगानी गर्छन् । रावायण जस्तो कमिर्सियल फिल्म बन्नु नेपाली दर्शकका लागि ठूलो कुरा हो । त्यसैले यो फिल्मलाई फिल्म हलसम्मै पुगेर साथ दिनुहोला । यो फिल्मलाई म दिन चाहन्छु फाइभ मा थ्री पोइन्ट फाइभ स्टार । निर्माण टिमलाई फेरि पनि भव्य सफलताको शुभकामना ।

