Home Main Highlight News नीताले २२ दिनमा सकाइन् ‘पार्वती’को छायांकन
 

नीताले २२ दिनमा सकाइन् ‘पार्वती’को छायांकन

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को २२ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार पोखरामा अन्तिम दृश्य खिचिएसँगै फिल्मको छायांकन पूरा भएको हो । गत चैत २४ गते कास्कीको मिर्सा गाउँबाट ३० दिनको तालिकामा फिल्मको छायांकन सुरु गरिएको थियो । काम छिटो हुँदा ८ दिन अगावै छायांकन सकिएको नीताले जानकारी दिइन् ।

नीताका श्रीमान् तथा ज्योतिष हरिहर अधिकारी निर्माता रहेको यस फिल्ममा नीता स्वयं मुख्य भूमिकामा छिन् भने दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, आशा पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा नीता स्वयंको कथा तथा पटकथा छ । संवाद भने शिवम् अधिकारीले लेखेका हुन् ।

सुदिप बरालको छायांकन रहेको फिल्ममा चर्चित डान्सिङ ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारी क्रियटिभ निर्देशकको रूपमा छन् भने शंकर पाण्डेले प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् । फिल्मको सम्पादन साहिल खानले गर्नेछन् । फिल्मलाई जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गते प्रदर्शन गरिँदैछ ।

नीताले फिल्ममा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । फिल्मबारे उनले भनेकी छन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’ फिल्ममा उनी ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link