मुम्बइ । मलयालम सुपरस्टार मोहनलाल अभिनीत बहुप्रतीक्षित क्राइम थ्रिलर फिल्म ‘दृश्यम ३’ को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरले ‘दृश्यम’ र ‘दृश्यम २’ का महत्वपूर्ण दृश्यहरू पुनः सम्झाउँदै कथा अघि बढाउँछ। त्यसपछि शीर्ष पात्र जर्जकुट्टीको मनोवैज्ञानिक अवस्थातर्फ केन्द्रित हुँदै उनी चर्चभित्र आफ्ना डर र भावनाहरू व्यक्त गरिरहेको देखिन्छ।
परिवारलाई जोगाउने आफ्नो अडान दोहोर्याउँदै पनि उनी आफू सधैं कसैले नियालिरहेको महसुस गर्ने बताउँछन्, जसले विगत अझै पूर्ण रूपमा समाप्त नभएको संकेत दिन्छ। टिजरले जर्जकुट्टीको जीवनमा फेरि एकपटक डर, रहस्य र नयाँ मोड देखाउँदै दर्शकमाझ उत्साह थपेको छ।
टिजरमा पुराना पात्रहरूको झल्को पनि देख्न पाइन्छ। ‘दृश्यम ३’ भारतीय सिनेमाको प्रसिद्ध अपराध थ्रिलर फ्रेन्चाइजीको अर्को अध्याय हो। जीथु जोसेफद्वारा निर्देशित र लिखित फिल्म एन्टोनी पेरुम्बावूरद्वारा निर्मित छ।
फिल्ममा मोहनलालका साथमा मीना, सिद्दिकी, आशा शरथ, मुरली गोपी, अन्सिबा हसन, एस्थर अनिललगायत कलाकारहरूको अभिनय छ। ‘दृश्यम ३’ मे २१, २०२६ देखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

