बिर्तामोड । ‘दशैं कोसेली किताब’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा वीरता रिडर्सको आयोजनामा किताब मेला हुने भएको छ ।
पठन संस्कृतिको विकास गर्न घर तथा संस्थाहरुमा मिनी लाइब्रेरीको स्थापना गरौँ भन्ने अभियान सञ्चालन गर्ने उद्देश्यका साथ किताब मेलाको आयोजना गरिएको आयोजक संस्थाका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।
उनका अनुसार बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म मेला सञ्चालन गरिनेछ ।
मेलामा विशेष गरी झापाली लेखकहरुका किताबहरुको छुट्टै स्टल रहने र अरु सम्पूर्ण किताब पाइने बताइएको छ । सो अवसरमा प्रत्येक दिन लेखकहरुसँग पाठकहरुको संवाद गराइने जनाइएको छ ।
इशा बुक्स एण्ड स्टेशनरीले स्टल व्यवस्थापन गरेको मेलामा ९ सयभन्दा बढी किताब रहनेछन् भने एक सय जति झापाका लेखकहरुका किताब राखिने स्टेशनरीका सञ्चालक केशव मैनालीले जानकारी दिए । उनले मेलामा शिक्षा, वित्तीय क्षेत्र, सहकारी, साहित्य लगायत सबै प्रकारका किताब रहने बताए ।
किताब मेलाका लागि झापाका सबै लेखहरुलाई आफ्ना प्रकाशित कृति बिक्रीका लागि उपलब्ध गराउन आयोजकले आग्रह समेत गरेको छ ।
दशैंमा उपहार स्वरुप किताब लगिदिने र पढ्ने बानीको विकास गर्न सके जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने भएकाले मेला उपयोगी हुने रिडर्स अभियन्ता सन्तोष आचार्यको धारणा रहेको छ ।
मेला साहित्य पत्रकार मञ्च तथा झापाली साहित्य समाजको सहकार्यमा हुन गइरहेको छ । किताब मेलामा पुस्तक खरिदमा ३० प्रतिशतसम्म छुट पाउनुका साथै लेखक साहित्यकारसँगको साक्षात्कार, कविता वाचन, पुस्तक परिचर्चा लगायतका कार्यक्रम पनि रहने आयोजकले जनाएको छ ।