Home Main Highlight News कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ मा रिलिज
   

कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ मा रिलिज

by Parda Sansar
A+A-
Reset

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ। शुक्रबार सर्टिफिकेट पाएसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।

निर्देशक रामबाबु गुरुङका अनुसार चलचित्रले सेन्सर बोर्डका पदाधिकारीबाट सकारात्मक प्रतिक्रिया पाएको छ। यसअघि सार्वजनिक चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले दर्शकमाझ उत्साह बढाएका छन्। विशेषगरी ‘थाक खोला’ गीतले चलचित्रप्रति कौतुहलता थपेको निर्माण पक्षको दाबी छ। ट्रेलरमा काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल सञ्चालन गरेको कथा, काजीको वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपीन कार्कीको ग्याङसँग हुने टकरावलाई कमेडी र एक्सन शैलीमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा विपीन कार्कीको ग्याङस्टार अवतारले दर्शकको ध्यान खिचेको छ भने मिरुना मगरको उपस्थितिलाई लिएर पनि दर्शक उत्साहित देखिएका छन्। अघिल्ला चार शृङ्खलाले व्यावसायिक सफलता हासिल गरेकाले पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ।

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

चलचित्र आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने चलचित्रको विदेश वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link