बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारबाट ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१’ सुरु भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मन्त्री एकराज कार्कीले गरेका हुन् ।
नेपाल चलचित्रकर्मी संघ र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री कार्कीले सबै जातजातिको धर्म संस्कृतिको जगेर्णा अहिलेको आवश्यकता भएको बताएका छन् । उनले समृद्धिका लागि सबैको संस्कृतिलाई समान ढङ्गले जगेर्ना गर्न आवश्यक रहेको औँल्याए ।
उद्घाटन अवसरमा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिपेन धिमाललाई सम्मान गरिएको छ । बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ को उद्घाटनका अवसरमा प्रशिक्षक धिमाल सम्मानित भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । खेल प्रशिक्षक धिमाल बिर्तामोडस्थित फिट स्टुडियोका सञ्चालक हुन् । उनी भर्खरै कोरियाबाट खेलकुद व्यवस्थापनमा स्नातकोत्तर गरी फर्किएका हुन् । उनले जिल्लाका विभिन्न स्थानमा नि:शुल्क प्रशिक्षण समेत प्रदान गर्दै आएका छन् ।
महोत्सवमा पर्यटन प्रवर्द्धनसँगै चलचित्रको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । सोही अवसरमा पाँच दिने अभिनय कार्यशाला समेत गरिने चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले बताए ।
महोत्सवमा विभिन्न मनोरञ्जनका खेल, कार्यक्रम रहने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । तामाङ घेदुङका अध्यक्ष विजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कलाकार प्रेम सुब्बा, चलचित्र निर्माता किशोर सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो । केवल तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन घेदुङका सचिव गणेश तामाङले गरेका थिए । उद्घाटन समारोहसँगै विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।