फिल्म ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । यही साउन १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ ।
गीतको शब्दले प्रेम र वैदेशिक रोजगारलाई जोडेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको यसको गीतको शब्द प्रदीप भारद्वाज र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारीको अभिनय देख्न सकिन्छ ।
निता अधिकारीले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् भने प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यस गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई प्रतिबिम्बित गरेको छ । चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भनेर दाबी गरेका छन् ।
चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् ।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ । गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन् । ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्नेछ ।