Home Main Highlight News कवितामा कथा सुनाउँदै ‘कोशेढुङ्गा’

कवितामा कथा सुनाउँदै ‘कोशेढुङ्गा’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । भदौ १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोशेढुङ्गा’को प्रचारप्रसारलाई तीव्र बनाइएको छ । निर्माण टिमले एक कवितासँगै तीन पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक कविताको वाचन मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । मन छुने शब्दसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र मोसन पिक्चर देख्न सकिन्छ ।

कविताले क्रमश: टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बन्धमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । जसमा मध्यम वर्गीय परिवेश, निराशामा लुकेको आशाको कथा बोल्ने संकेत गरिएको छ ।

झन्डै १ मिनेट ४० सेकेन्ड छोटो लिरिकल भिडियोमा सिनेमाका अधिकांश मुख्य पात्रलाई देख्न सकिन्छ । जसले उनीहरूको चरित्र र भूमिकालाई प्रस्ट बनाएको छ । कविताले सिनेमामा निर्देशकले भन्न खोजेको कथाको संकेत गर्छ । कथा के हो भन्ने बारे विस्तारै खोल्दै जाने निर्देशक सरोज पौडेलको भनाइ छ ।

यसैबीच, निर्माणपक्षले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन् ।

अर्को पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसीलाई देख्न सकिन्छ । त्यस्तै अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन् । यो पोस्टरमा सुरक्षाले भारी बोकेकी छन्, मन्जिल कसैलाई हेरिरहेका छन् ।

केही दिन अगाडि निर्माण पक्षले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको थियो, जुन गीत अहिले टिकटकमा हिट रहेको छ ।

‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलद्वारा निर्देशित भएकाले ‘कोशेढुंगा’ दर्शकका लागि प्रतिक्षित सिनेमा बनेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका सिनेमा ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

नेपालसहित ४२ भन्दा धेरै देशमा एक साथ रिलिज हुने ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने भएको छ । यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउन लागेको हो । पहिलो पटक यति धेरै देशमा एकसाथ सिनेमा प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link