बिर्तामोड । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को टाइटल गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको यस गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।
गुरुङ संस्कृति देख्न सकिने गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने रिता केसी र अंशु लामा (अशबहादुर गुरुङ) को स्वर छ । गीतमा मेला महोत्सवको माहौलमा प्रेमिल कुरा देख्न सकिन्छ ।
ला मो समयपछि यस चलचित्रमा दयाहाङ राई र रिश्मा गुरुङको जोडी पुन: पर्दामा हेर्न पाइने भएको हो ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘रिमै’मा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।