बिर्तामोड । आगामी भदौ २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा धमाधम बिक्री भइरहेको छ ।
हालै चलचित्रको अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । दि ब्याक इभेन्ट्सले अस्ट्रेलिया र न्युजिल्यान्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यसअघि चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण टिमले जनाएको छ । बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको हो ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । पेन्सन पट्टाले मानीसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसको लागि के कस्तो संघर्ष गर्नुपर्छ भन्ने विषयलाई समेटिएको छ ।
माओत्से गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सुरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका चलचित्रमा हर्क साउद, शिव बराइली र सुरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको संगीत रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रप्रति विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा थप अन्तर्राष्ट्रिय बजार खुल्ने अपेक्षा गरिएको छ ।

