काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म **‘आचार्य’**को एक्सनप्याक्ड ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। तीव्र द्वन्द्व, आकर्षक एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक दृश्यले फिल्म एक्सनप्रधान रहेको संकेत गर्छ। ‘भैरव’मार्फत एक्सन अभिनेताका रूपमा चर्चा कमाएका निखिलले ‘आचार्य’मा एक्सनलाई अझ फराकिलो बनाएको ट्रेलरबाट देखिन्छ।
नेपाली फिल्ममा पछिल्लो समय कम हुँदै गएको मास इन्टरटेनर शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयास फिल्मले गरेको निर्माण पक्षको दाबी छ। विदेशी फिल्मको दबदबा रहेको अवस्थामा नेपाली बजेट, सामग्री र जनशक्तिबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ निर्माण गरिएको निखिलले बताएका छन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मले पनि विदेशी शैलीका मनोरञ्जनात्मक फिल्म बनाउन सक्ने बताए। उनले भने, ‘त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ।’
आफूले हरेक फिल्ममा केही नयाँ दिने प्रयास गर्दै आएको उल्लेख गर्दै निखिलले ‘आचार्य’मा एक्सन र कन्टेन्टमा नयाँपन प्रस्तुत गर्ने प्रयास गरिएको बताए।
फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापती र सजिना श्रेष्ठले यही फिल्ममार्फत अभिनयमा डेब्यु गरेका छन्। दीपजङ्ग राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेललगायत कलाकार पनि फिल्ममा छन्।
सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन तथा सन्देश शाहको ट्रेलर र टिजर निर्माण रहेको छ। फिल्मलाई नेपालमा मनोज राठीले वितरण गर्दैछन् भने विदेश वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। डिजिटल पार्टनर ओएसआर डिजिटल हो।

