Home Main Highlight News पशुपतिबाट सुरु भयो ‘ए मेरो हजुर ५’को नियमित छायांकन
   

पशुपतिबाट सुरु भयो ‘ए मेरो हजुर ५’को नियमित छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ५’को नियमित छायांकन सुरु भएको छ। निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार २५ दिनको सेड्युलसहित पशुपतिबाट चलचित्रको छायांकन थालिएको हो।

यसअघि साउन २९ गते ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको चलचित्रको केही दृश्य बाजुरास्थित बडीमालिका मन्दिर तथा खप्तड राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छायांकन गरिएको थियो। निर्माण टिमले त्यही क्षेत्रबाट नियमित छायांकन अघि बढाउने तयारी गरे पनि अहिले काठमाडौं फर्किएर पशुपतिबाट मुख्य छायांकन सुरु गरेको हो।

झरना थापाको निर्देशनमा बन्ने चलचित्रमा अनमोल र सुहाना मुख्य भूमिकामा छन्। यी दुईको यो तेस्रो सहकार्य हो। यसअघि ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा उनीहरूले सँगै अभिनय गरेका थिए।

चलचित्रमा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ। पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना थापा करिब २५ वर्षपछि पाँचौँ शृंखलामा पुनः अभिनय गर्दैछिन्। उनको भूमिकाबारे भने निर्माण पक्षले थप विवरण सार्वजनिक गरेको छैन।

चलचित्रको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूसहितको संगीत रहनेछ।

काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने चलचित्र नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ।

‘ए मेरो हजुर’का अघिल्ला चारवटै शृंखला व्यावसायिक रूपमा सफल भएका थिए। यसपटक झरना थापाको निर्देशनसँगै अभिनय पनि हेर्न पाइने भएकाले चलचित्रप्रति दर्शकको चासो बढेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link