बिर्तामोड । फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि एकैसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगे दाउ २’, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ र राजु अधिकारी निर्देशित ‘माया बस्छ कि के हो !’ हलमा लागेका हुन् ।
‘झिँगेदाउ २’ ले पारिवारिक सम्बन्ध, भावना र सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।
यस्तै, ‘कार्की साइँला’ भरियाको जीवन, विवाह, सन्तानको खुसी, सामाजिक हेपाइ र दोस्रो विवाहको कथामा आधारित छ । यस फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । बालकुमार राईको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन् ।
राजु अधिकारी निर्देशत ‘माया बस्छ कि के हो !’ चलचित्र न्यून प्रचारप्रसारका बीच प्रदर्शनमा आएको छ । चलचित्रले क्यूएफएक्सलगायत ठूला मल्टिप्लेक्समा शो पाउन सकेको छैन । खल्तीमा उपलब्ध विवरणअनुसार देशभर तीनवटा शो मात्र देखिएको छ ।
प्रेमकथामा आधारित यस चलचित्रमा सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा छन् । विदेशमा अध्ययन तथा रोजगारीका क्रममा रहेका युवायुवतीको प्रेम, समर्पण र मतभेदलाई चलचित्रले प्रस्तुत गरेको छ ।


