Home Main Highlight News ‘झिँगेदाउ २’ : मौलिक कथामा पुरानो समयको सजीव चित्रण
   

‘झिँगेदाउ २’ : मौलिक कथामा पुरानो समयको सजीव चित्रण

by Parda Sansar
A+A-
Reset

एकराज प्रधान

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र मानवीय व्यवहारलाई केन्द्रमा राखिएको चलचित्रले पहिलो भागबाट अघि बढाइएको कथालाई नयाँ घटनाक्रमसँग जोडेको छ ।
पहिलो भागमा एउटै गाउँका साथी सीता र राधाले एउटै परिवारका दाजुभाइसँग विवाह गरेका हुन्छन् । दशैँमा झिँगेदाउ खेल्ने क्रममा झिँगा मारेको सामान्य विषयले परिवारभित्र ठूलो विवाद निम्त्याउँछ । त्यसले क्रमश: पारिवारिक सम्बन्धमा दरार ल्याउँदै अन्तत: आमालाई घर छाड्नुपर्ने अवस्थासम्म र्पुयाउँछ ।

‘झिँगेदाउ २’ को कथा यही घटनाक्रमबाट अघि बढ्छ । चलचित्रमा रुखको विषयलाई लिएर देउरानी-जेठानीबीच पुन: विवाद उत्पन्न हुन्छ । त्यसपछि अंशवण्डाको प्रसंग उठ्छ र त्यसका लागि घर छाडेर गएकी आमाको खोजी गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । आमाको खोजीमा निस्किएको यात्राले चलचित्रलाई विभिन्न घटनाक्रम र मोडतर्फ लैजान्छ ।

चलचित्रले पारिवारिक सम्बन्धसँगै वृद्ध अभिभावकप्रतिको सन्तानको जिम्मेवारी, जुवातासको नकारात्मक प्रभाव, छिमेकी र आफन्तको महत्व तथा मानवीय संवेदनाजस्ता विषयलाई कथामा समेटेको छ । सन्तानले जतिसुकै दु:ख दिए पनि आमाले सन्तानको भलो चाहिरहने भावनालाई चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

चलचित्रको प्रमुख विशेषता भनेको यसमा प्रस्तुत गरिएको पुरानो समयको परिवेश हो । पञ्चायतकालीन समय, मधेशमा झोडा फाँडेर बस्ने अवस्थादेखि तत्कालीन सामाजिक जीवनशैलीलाई पर्दामा उतारिएको छ । गाडी, रिक्सा, प्रहरी चौकी, टाइपराइटरलगायतका वस्तु तथा संरचनाले दर्शकलाई पुरानो समयतर्फ फर्काउने प्रयास गरेका छन् ।

आधुनिक स्वरूपमा परिवर्तन भइसकेको काठमाडौंलाई समेत पुरानो परिवेशमा देखाउने प्रयासमा निर्माण पक्ष सफल देखिएको छ । स्थान, पोसाक, सामग्री तथा दृश्य संरचनामा गरिएको मेहनतले कथाको समयकाललाई विश्वसनीय बनाउन सहयोग गरेको छ । केही होर्डिङ बोर्डका अक्षर आधुनिक देखिनु तथा जेलको सेटमा प्रयोग गरिएको ग्रिलबाहेक समयकालको पुनर्निर्माणमा ठूलो असंगति देखिँदैन ।

यस चलचित्रले कुनै पात्रलाई स्पष्ट रूपमा नायक वा खलनायकका रूपमा स्थापित गरेको छैन । बरु मानवीय अहंकार, गलत बुझाइ र चेतनाको कमीलाई नै पारिवारिक द्वन्द्वको मुख्य कारणका रूपमा प्रस्तुत गरिएको छ । गाउँले परिवेशअनुसारको भाषा, संवाद र शारीरिक हाउभाउले चलचित्रमा स्थानीय स्वाद थपेको छ । नामभन्दा थरबाट चिनाउने ग्रामीण संस्कारलाई ‘खनाल्नी आमै’, ‘लम्साल बा’, ‘भण्डारीकी छोरी’ जस्ता सम्बोधनमार्फत रोचक ढंगले प्रस्तुत गरिएको छ ।

सीता र राधाको चरित्र चलचित्रको महत्वपूर्ण पक्ष हो । देउरानी-जेठानीबीचको बाहिरी झगडासँगै उनीहरूबीचको मानसिक द्वन्द्वलाई पनि प्रस्तुत गरिएको छ । दुवै पात्रको हाउभाउ, अभिव्यक्ति र संवादले चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ ।

हिउँवाला गौतमले आमाको भूमिकालाई जीवन्त बनाएकी छन् । रमाकान्तको भूमिकामा रहेका महेश त्रिपाठीले सोझो गाउँले युवकको चरित्रलाई प्रभावकारी ढंगले निर्वाह गरेका छन् । श्रीमतीको प्रभावमा सहजै आउने उनको चरित्रले हास्य र मनोरञ्जन थपेको छ । कान्छो छोराको भूमिकामा रहेका कुशल विष्टको अभिनयमा पनि परिपक्वता देखिन्छ । आँचलसँगको उनको दृश्य तथा क्यामेस्ट्री दर्शकका लागि रोचक बनेको छ ।

संगम भण्डारीको ‘फतौरी बुढीवाला’ पात्र पनि सम्झनलायक छ । धेरै बोल्ने र अरूका विषयमा चासो राख्ने भए पनि अप्ठ्यारो अवस्थामा छिमेकीलाई सहयोग गर्ने उनको चरित्रले ग्रामीण समाजमा छिमेकी सम्बन्धको महत्व देखाउँछ । मुखियाको भूमिकामा विजय देउजा, रणेको भूमिकामा अभयराज बराल तथा अरूको चियो गर्दै हिँड्ने चरित्रमा अंशु महर्जनको अभिनय पनि उल्लेखनीय छ ।

नयाँ पात्रका रूपमा चलचित्रमा जोडिएका वसुन्धरा भुषाल, सरोज खनाल, आर्यन सिग्देल र विष्णु सापकोटाले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् । चलचित्रमा गीतमार्फत कथा अघि बढाउने प्रयास गरिएको छ । यद्यपि यही शैली पटक-पटक दोहोरिँदा केही स्थानमा भने चलचित्रको गति प्रभावित भएको महसुस हुन्छ ।

‘झिँगेदाउ २’ को अर्को उल्लेखनीय पक्ष यसको स्टोरीटेलिङ हो । पात्रहरू समस्यामा र तनावमा रहे पनि त्यसलाई प्रस्तुत गर्ने शैलीले दर्शकलाई मनोरञ्जनसँग जोडिराख्छ । पारिवारिक विषय र ग्रामीण परिवेशसँग दर्शक सहजै जोडिन सक्ने भएकाले चलचित्र धेरै ठाउँमा रोचक बनेको छ ।
चलचित्रले साना-साना समस्या समयमै समाधान नगर्दा त्यसले ठूलो रूप लिन सक्ने सन्देश दिन्छ । घर केवल भित्ता र छानाले बनेको संरचना नभई आपसी सम्बन्ध र भावनाले बनेको हुन्छ भन्ने भाव चलचित्रको मूल सन्देशमध्ये एक हो । एउटै घरमा बस्ने व्यक्तिले एकअर्काको भावना बुझ्नुपर्ने र अरूको कुरा सुनेर मात्र निर्णय गर्न नहुने सन्देश पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।

कलाकारको अभिनय, मौलिक कथा, चरित्र चित्रण, पुरानो समयको पुनर्निर्माण र सामाजिक सन्देश चलचित्रका सबल पक्ष हुन् । समग्रमा ‘झिँगेदाउ २’ पहिलो भागको निरन्तरता मात्र नभई पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारलाई केन्द्रमा राखिएको मौलिक चलचित्रका रूपमा प्रस्तुत भएको छ । देउरानी-जेठानीको झगडाबाट सुरु हुने कथा पारिवारिक संवेदना, सम्बन्धको महत्व र मानवीय चेतनासम्म पुग्छ । पारिवारिक दर्शकलाई लक्षित गरेको चलचित्रले पुरानो नेपाली समाज र जीवनशैलीलाई पर्दामा उतार्न गरेको प्रयास प्रशंसनीय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link