बिर्तामोड । यही माघ ९ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै यो फिल्मको सेन्सर पास भएको हो ।
पीजी सर्टिफिकेट पाएसँगै यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथमा लैजानुपर्ने छ । फिल्मलाई निर्देशक विजय केरुङले निर्देशन गरेका हुन् । फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल रहेकाले पिजी सर्टिफिकेट पाएको बताएका छन् ।
उनका अनुसार केही डरलाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले फिल्म हेर्नका लागि अभिभावक चाहिएको हो ।
यो फिल्मको ट्रेलर चर्चामा रहेको छ । जसलाई युट्युबमा छोटो समयमा नै ११ लाखभन्दा बढी पटक हेरिएको छ । फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराईको मुख्य भूमिका रहेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन् ।
एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा श्री श्रेष्ठको एक्सन डिरेक्सन र बन्दे प्रसादको सम्पादन रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ ।
फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ ।
#pariwartan

