बिर्तामाेड । चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका हलहरुमा रिलिज हुँदैछ । बलिराम चौहानको निर्देशनमा तयार भएको साइकोलोजिकल थ्रिलर जनराको यस चलचित्रले दर्शकमाझ निक्कै कौतुहलता जगाएको छ ।
निर्देशक चौहानका अनुसार यो हेरेर बिर्सिने फिल्म होइन, यसले दर्शकमा गहिरो प्रभाव छाड्नेछ । चलचित्रमा मानिसको मनको जटिलता, एक्लोपन, वास्तविकता र भ्रमलाई रहस्यमयी तरिकाले प्रस्तुत गरिएको उनी बताउँछन् ।
ट्रेलर हरर फिल्म जस्तै लागे पनि निर्देशक चौहानले यो हरर नभई मनोवैज्ञानिक कथा भएको बताएका छन् । तर, फिल्मले दर्शकमा केही डरको अनुभूति पनि गराउन सक्ने उनले बताए ।
चलचित्र ‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । चलचित्रमा प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन प्रयास गरेको निर्देशक बलिराम चौहानको दाबी छ । त्यसैले ‘द ब्लू लाइट’ ले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको देखिन्छ ।
फिल्ममा बेनिशा हमाल र अर्पण थापासँगै आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी पनि मुख्य भूमिकामा रहेका छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक छन् । ‘द ब्लू लाइट’ बाट निर्देशनमा बलिराम चौहानले डेब्यु गरेका हुन् ।
