बिर्तामोड । ‘परदेश’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एभरेस्ट ग्यालरी टिमद्वारा निर्माण गरिएको भिडियोले समयसापेक्ष विषयवस्तु समेट्दै नेपाली समाजका विभिन्न कथालाई सजीव रूपमा प्रस्तुत गरेको छ ।
विशेषगरी, विदेशमा बाध्यतावश बस्नुपरेकी एक नेपाली महिलाको पीडा, संघर्ष र मानसिक अवस्थालाई मार्मिक ढंगले चित्रण गरिएको छ । यसले वैदेशिक रोजगारीमा रहेका नेपाली दिदीबहिनीहरूको यथार्थ जीवनलाई उजागर गरेको छ ।
भिडियोमा सनम कठायत र सृष्टि खड्काको अभिनय प्रभावशाली छ । सिडी विजय अधिकारी र शान्तिश्री परियारको स्वरमा रहेको गीतमा संगीत स्वयं अधिकारीकै रहेको छ भने शब्द प्रजन बस्नेतले लेख्नुभएको हो । निर्देशन पनि सनम कठायतकै छ ।
खिजिदेम्बा गाउँपालिकामा छायांकन गरिएको भिडियोमा दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन छ । ‘परदेश’ले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्दै दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
