बिर्तामोड । ‘पूर्ण बहादुरको सारङ्गी’को चर्चित गीत ‘रैया चाँदीको’कै झल्को दिने गरी चलचित्र रोल नं. १ को नयाँ गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएपछि गीतको चर्चा बढेको छ । गीतले रिलिजको दोस्रो दिनमै ३ लाख ६० हजार भ्युज पाइसकेको छ ।
लोकलयमा आधारित गीतको भिडियोमा रोधी बसेका युवायुवती र ग्रामीण परिवेश देख्न सकिन्छ । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दमा बनेको यस गीतको संगीत स्वयम् शिवाकोटीले भरेका हुन् ।
भिडियोमा मुकुन भुसाल, रेणु योगी, विनोद न्यौपाने र जुना विश्वकर्माको नृत्य देखिन्छ । जोन योञ्जन निर्देशित रोल नं. १ जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा मुकुन र रेणुसहित सिर्जना अधिकारी, सुशांक मैनाली, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।



